PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रम देउवालाई डा‍. केसीले दिएका १७ सुझाव, जसको बेवास्ताले केसीले पुन: अनशनको घोषणा गरे



सागर बुढाथोकी

प्रम देउवालाई डा‍. केसीले दिएका १७ सुझाव, जसको बेवास्ताले केसीले पुन: अनशनको घोषणा गरे

काठमाडौँ: चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनशनरत डा. गोविन्द केसीले आजदेखि पुनः १३औँ अनशन सुरु गर्दैछन्। चिकित्सा शिक्षा विधेयकमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका १७ बुँदे सुझाव कार्यान्वयन नभएको भन्दै केसीले अनशन थाल्ने घोषणा गरेका हुन्। दशैंका कारण उनले १२औँ अनशन बीचैमा तोडेका थिए। केसी आज अपराह्न साढे ४ बजेबाट अनशन बस्न लागेको डा. अभिषेक राज सिहंले बताए।

असोज ३ गते केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ गतेसम्मको अल्टिमेटम दिएका थिए।

तर, १७ दिनको अल्टिमेटम दिएको ६ दिन नपुग्दै डाक्टर केसीले असोज ९ गते आमरण अनशन थालेका थिए। संसदले माथेमा कार्यदलको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै केसीले अनशन थालेका थिए। तर, संसदले विधेयक पास गरेन। दुई दिनपछि केसीले चाडवाडको कारणा देखाउँदै अनशन तोडेका थिए।

असोज १३ गते केसीसँग प्रधानमन्त्री देउवाले भेट गर्दै १९ गतेअघि नै सबै माग कार्यान्वयन गर्न पहल गर्ने बताएका थिए। माग पूरा गर्नेतर्फ पहल नभएपछि केसी पुनः अनशन बस्न लागेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा केसीले विधेयकमाथि १७ बुँदे सुझाव समेत दिएका थिए।

 

यस्ता छन् १७ बुँदे सुझाव

१) ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ लाई कार्यान्वयन गर्नका लागि ऐन जारी गरिएको’ कुरा प्रस्तावनामा लेख्ने।

२) ‘चिकित्सा शिक्षामा विपन्न लगायत सवै विद्यार्थीहरुको समान पहुँच सुनिश्चितताका लागि” ऐन जारी गरिएको कुरा समेत प्रस्तावनामा लेख्ने।

३) ‘सार्वजनिक शिक्षण संस्था’को परिभाषा हटाई देहाय बमोजिम परिभाषा कायम गर्न विधेयकको दफा २ को उपदफा (ध) लाई हटाउने 

(ध)‘सरकारी शिक्षण संस्था’ भन्नाले सरकारको स्वामित्वमा रहेको शिक्षण संस्था सम्झनु पर्दछ।

(न)‘निजी शिक्षण संस्था’ भन्नाले निजी लगानीमा सञ्चालित शिक्षण संस्था सम्झनु पर्दछ।

४) शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री समेत आयोगको पदाधिकारीमा रहने व्यवस्थाले आयोगको स्वायत्ततामा सरकारको अत्यधिक हस्तक्षेप हुन सक्ने हुँदा विधेयकको दफा ५ को उपदफा (१) को खण्ड (ख) र (ग) मा रहेको सहअध्यक्षहरु सम्बन्धी व्यवस्था हटाउने।

५) विश्वविद्यालय रहेको भन्दा अन्य प्रदेशमा अवस्थित शिक्षण संस्थालाई सम्बन्धन नदिनका लागि विधेयकको दफा १३ को उपदफा (४) को खण्ड (ग) यथावत राख्ने।

६) विधेयकको दफा १३ को उपदफा (४) को खण्ड (ग) पछि देहायको खण्ड (घ) अनिवार्य रुपमा थप्ने–

‘काठमाडौं उपत्याकाको हकमा यो ऐन जारी भएको दश बर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा प्रतिष्ठान खोलिने वा विस्तारित कार्यक्रम सञ्चालन गरिने छैन।’

७) पूर्णरुपमा सञ्चालनमै नआएको अस्पताललाई समेत सम्बन्धन दिने तथा काठमाण्डौं उपत्याकामा तत्काल थप मेडिकल कलेजहरु खोल्ने प्रयोजनका लागि स्वार्थ समूहको प्रभावमा परी विधेयकमा थप्न खोजिएको संसदको महिला, वालवालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको प्रतिवेदनको बुँदा नं. ६ को खण्ड (च) अनिवार्य रुपमा हटाउने र काठमाडौं उपत्याकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने तथा तीन बर्षदेखि पूर्ण रुपमा सञ्चालनमा आएको अस्पतालले मात्र सम्बन्धनका लागि आवेदन गर्न पाउने व्यवस्था गर्ने (स्वास्थ्य सेवा कर तिरेर मात्र नहुने)।

८) विधेयकको दफा १३ मा एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्था थप गर्ने।

९) विधेयकको दफा १६ को उपदफा (१) को पछाडि ‘प्रवेश परीक्षा उत्तीर्ण गर्नका लागि ६० प्रतिशत अंक ल्याएको हुनु पर्नेछ।’ भन्ने व्यवस्था थप्ने ।

१०) विधेयकको दफा १७ को उपदफा (७) मा “सरकारी शिक्षण संस्थाले शतप्रतिशत निशुल्क छात्रवृत्ति प्रदान गर्ने र निःशुल्क स्वाथ्य सेवा समेत प्रदान गर्नेछ। सरकारबाट जग्गा, अनुदान वा अन्य स्रोतसाधन प्राप्त गरेको शिक्षण संस्थाले कम्तीमा ५० प्रतिशत निःशुल्क छात्रवृत्ति प्रदान गर्नेछ। साथै, दुर्गम जिल्लाको सामुदायिक विद्यालयमा अध्ययन गरेको वा सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई पूर्णतया निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ।’ भन्ने व्यवस्था थप गर्ने।

११) समितिको प्रतिवेदनको बुँदा नं. १२ हटाउने र सेवा क्षेत्रको रुपमा काम गर्ने सम्बन्धमा विधेयकको दफा २०(१) मा “सो संस्था रहेको प्रदेशका जिल्लाहरुमध्ये” भन्ने व्यवस्था यथावत राख्ने।

१२) समितिको प्रतिवेदनको बुँदा नं. १५ को खण्ड (ख) मा गरिएको तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था हटाउने र विधेयकको दफा २३(२) मा आयोगको उपाध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले एक जनाको नाम सिफारिस गर्ने व्यवस्था यथावत कायम गर्ने। 

१३) समितिको प्रतिवेदनको वुँदा नं. १९ को खण्ड (क)  हटाउने र आयोग आफैले संगठन संरचना र दरवन्दी स्वीकृत गर्ने व्यवस्था विधेयकको दफा ३१ म यथावत कायम गर्ने ।

१४) समितिको प्रतिवेदनको वुँदा नं. २१ हटाउने र ‘आयोगले प्रोत्साहन गर्नेछ।’ भन्ने व्यवस्था दफा ३६ मा यथावत कायम गर्ने।

१५) फेजआउट गर्ने सम्बन्धी विधेयकको दफा ४२ को उपदफा (२) मा विश्वविद्यालयको पछाडि ‘प्रतिष्ठान’ समेत थप गर्ने।

१६) विधेयकको दफा ४६ मा प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेजका साथै डेन्टल, नर्सिङ र अन्य स्वास्थ्य सम्बन्धी सरकारी शिक्षण संस्थाहरु खोल्नु पर्ने व्यवस्था गर्ने।

१७) प्रधानमन्त्रीले आयोगलाई निर्देशन दिने र सोको पालना गर्नु पर्ने आयोगको स्वायत्तता विपरीत रहेको समितिको प्रतिवेदनको वुँदा नं. २७ ले थप गर्न खोजेको दफा ५१ हटाउने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell