
चितवन : बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ।
हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन्। आगामी पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ।
हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारी चाप थेग्न नसक्ने देखिएको छ। जसका कारण सो सडकको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि सारिएको छ भने दोस्रो विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ।
यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिए।
यी दुई सडकसँगै अन्य सात वटा सडक र तीन वटा पुलसमेतको डिजाइनका लागि कोरियाली परामर्शदाता छनोटमा परेको छ।
आगामी साता कामको सम्झौता गरिने उनले बताए।
अन्य सडक र पुलका लागि एक वर्ष छ महिनाको समय तोकिएको भए पनि मलेखुबाट भण्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ।
बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ।
दोस्रो विकल्पका रुपमा लिइएको मुग्लिन–देवघाट–गैँडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनु पर्ने हुन्छ।
हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भएपनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ।
पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिने अनुमान छ।रासस