भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताएका छन्।
नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महतले वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट कांग्रेस विचलित नहुने बताए।
उनले भने,‘राजनीतिमा एमाले सबैतिरबाट एक्लिँदै गयो, अनि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाए।’
उनले वर्तमान सरकारले नै मंसिरको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताए। रासस