
बैंककः थाईल्याण्डको सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको छ।
थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार उनी दुबईमा रहेकी पुष्टी गरेका हुन्। बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा उनी दुबईमा रहेको समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए।
उनले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उनी हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेको बताए।
पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो। सोही बेला उहाँ अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन्।
पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो।अदालतको फैसला लामो समयको सुनुवाईपछि आएको थियो।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ।
त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ। उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन्।
सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्याधिक मतका साथ विजयी भएको थियो।
तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो।
तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो। रासस/सिन्ह्वा