
पूर्वी दिल्लीको विवेक विहार पुलिस स्टेसन यतिखेर चर्चाको शिखरमा छ। स्वघोषित 'देवी' राधे माँका कारण पुलिस स्टेसन चर्चामा आएको हो। राधे माँ त्यहाँका स्टेसन हाउस अफिसरको कुर्सीमा बसिरहेको र उनको छेवैमा हात बाँधेर बसेका प्रहरी अधिकृत सञ्जय शर्माको फोटो यतिखेर भाइरहल भइरहेको छ।
भारतका स्वनामधान्य धर्मगुरुहरु यौन प्रकरणमा मुछिँदै जेलयात्रा जारी रहेकै बेलामा राधे माँको पुलिस स्टेसन यात्रा भने अर्कै कारणले भएको रहेछ।
सेप्टेम्बर २८ मा लिइएको फोटोमा प्रहरी अधिकृतको घाँटीमा चुनरी झुन्डिएको छ युनिफर्माथि नै।
हिन्दुस्तान टाइम्सका अनुसार त्यसपछि प्रहरी अधिकृतलाई सोध्दा उनले राधे माँ पुलिस स्टेसन आएको स्वीकारे। उनी आउनुको कारण रहेछ - पिसाव च्यापेर। रामलिला क्षेत्रतिर जाँदै गर्दा पिसावले च्यापेपछि राधे माँले पुलिस स्टेसन रोजिन्। त्यहाँको वासरुम प्रयोग गरिन्।
'उहाँ केही मिनेट मेरो कुर्सीमै बसिदिनुभयो। मैले हात जोडेर विन्ति गरेँ - अफिस छाड्नुस...उहाँ धार्मिक व्यक्ति पर्नुभयो...,' शर्माले भने।
शर्माका अनुसार त्यस दिन दिउँसो ११:३० तिर यस्तो भएको थियो। 'उहाँका भक्तहरुले वासरुमका लागि आउनुभएको बताए। मैले ट्वाइलेट प्रयोग गर्न दिएँ। पछि उहाँ मेरो कुर्सीमा आएर बस्नुभयो,' प्रहरी अधिकृत शर्माले भने। १५ जनासहित उनी प्रहरी कार्यालय छिरेकी थिइन्।
कुरो यतिमै रोकिएन। सोसल मिडियामा अब प्रहरीलाई धेरैले प्रश्न गरेका छन् - के ट्वाइलेट लाग्यो भने हामीले पनि पुलिस स्टेसन छिर्न पाउँछौ?