PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

सउल ओलम्पिक हलमा नेपथ्य प्रस्तुत



पहिलोपोस्ट

सउल ओलम्पिक हलमा नेपथ्य प्रस्तुत

दक्षिण कोरिया : नेपालको अग्रणी लोक–रक ब्याण्ड नेपथ्यले सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार प्रस्तुती गरेको छ।

यसअघि अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरु ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’लेसमेत यसै हलमा प्रस्तुत गरिसकेका छन्।

कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’कै बखत पारेर त्यहाँस्थित कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो। चुसोक कृषिमा आधारित परम्परागत पर्व हो।

आप्रवासीहरुको निम्ति भने यो पर्व साथीभाइसँग भेटघाट गर्ने र स्वदेशकाे सम्झना ताजा पार्ने अवसर बन्न पुगेकाे छ।

‘स्वदेशमै तपाइहरुलाई रोजगारीको प्रबन्ध गर्न नसकेकै कारण सबै जना यो ठाउँ आइपुग्नु भएको हो। आफन्त, साथीभाइ र मान्यजनहरुबाट यसरी टाढिएर बाँच्नु पर्दाको पीडा म बुझ्दछु कन्सर्टकै क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘जे जस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफूमा स्वदेशका निम्ति काम लाग्ने सीप विकास गर्नुस्।

यति भनिसकेपछि अमृतले केही वर्षअघि मात्र तयार पारेको एउटा मार्मिक गीत प्रस्तुत गरे।

‘मै मरी जाउँला, जीवन छोटो छ

लेखेको सम्झना, चेतेर नफाल

सिरानमा फोटो छ।’

यस गीतलाई नेपथ्यले आफ्नो २५ औं वर्ष मनाउने क्रममा हालै म्यूजिक भिडियोका रुपमा पनि सार्वजनिक गरेको छ।

योसमेत गरेर दक्षिण कोरियाली राजधानी सउलमा नेपथ्यको यो पाँचौ प्रस्तुती थियो।

‘यो जिन्दगानी’बाट अघि बढेको कन्सर्ट ‘कोशीको पानी’, ‘गाउँ गाउँबाट उठ’ हुँदै नेपथ्यका सुपरहिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’मा प्रवेश गरेको थियो। कन्सर्ट ‘रातो र चन्द्रसुर्य’बाट अन्त्य भएको थियो।

कन्सर्टमा सँधैझैँ अमृतलाई स्टेजका साथीहरु ध्रुवलामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए।

‘नेपथ्यको २५ वर्षे सांगीतिक यात्रा मनाइरहेकै बेला सउलमा यसरी पाँचौ प्रस्तुतीका निम्ति आउन पाउँदा असाध्यै हर्ष लागिरहेको छ,’ कार्यक्रम सकिने बेलामा अमृतले भने, ‘नेपालभित्र र नेपालबाहिर बसेर नेपथ्यलाई सुनिदिनुहुने र हाम्रा भाकामा रमाइदिनुहुने सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु।’

कार्यक्रम सफलताका साथ सम्पन्न भएकामा कास्की परिवारका तर्फबाट खोम गुरुङले कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell