काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए।
बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताए।
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि काँग्रेसले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो।
काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बुधबार बसेको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो।रासस