PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

‘मर्छू बरु कम्प्रमाइज गर्दिन’



सागर बुढाथोकी

‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

काठमाडौं : १३ औं पटकको अनशन सुरु गर्नै लाग्दा डाक्टर केसीलाई पत्रकारहरुको प्रश्नले घेरिरह्यो। कति प्रश्हरुनलाई उनले संयमित भएर उत्तर दिए भने कतिमा आक्रोशित पनि।

१२ ‌औ अनशन २ दिनपछि तोडेर त्यसको १० दिनपछि अनशन बसेका केसीलाई एक पत्रकारले सोधे, ‘पटक पटक अनशन बस्नु हुन्छ, सम्झौता गर्नुहुन्छ। तोड्नुहुन्छ, कहिले माग पूरा नहुने अनशन बस्नुको औचित्य के ?’

संयमित भएर पत्रकारलाई जवाफ दिइरहेका केसी एकाएक आक्रोशित भए। भने, ‘मैले लुटेरा नेताले सुन्छन् भनेर अनशन बसेको हैन्। माफिया संसदले मेरो माग पुरा गर्छन् भनेर म लडेको हैन्। म तीन करोड नेपाली जनताले गुणास्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेर लडेको हुँ। एकदिन जनताले अवश्य सुन्छन्।’

डाक्टर केसीको सामु अर्को प्रश्न तेर्सियो, ‘अनशन बाहेक अरु कुनै विकल्प होला नि? तपाई पनि कम्प्रमाइज गर्नुस सरकारले पनि अलिकति कम्प्रमाइज गरेर माग पूरा गर्छ। अनशन बस्ने अवस्था नै आउँदैन नि।’

यो प्रश्नले डाक्टर केसी झनै आक्रोशित बने। उनले भने, ‘मैले अहिलेसम्म धेरै कम्पर्माइज गरिसकेँ। अब कम्पर्माइज हुँदैन, हुँदैहुँदैन। अनशन बस्दाबस्दै मर्छु बरु माफियाको हित हुने गरी म कम्प्रमाइज गर्दिन। स्वास्थ्य र शिक्षा गुणस्तरीय पाउनुपर्छ भन्ने माग हो यसमा म अडिग रहन्छु।’

केसी एकछिनपछि संयमित हुँदै भने, ‘तपाईँहरु आफै गुणस्तरहीन डाक्टरसँग उपचार गर्न मान्नुहुन्न। अहिले केही पूर्वाधार नभएको कलेज खोलेर गुणास्तरहीन डाक्टर उत्पादन भएका छन्। त्यसपछि बिरामीको हालत के हुन्छ?’

केसीले थप्दै गए, ‘अहिले यस्तो मेडिकल कलेज खुल्यो कि डक्टरी पढ्नेहरु बिरामी नदेखी नजाची पास हुन्छन्। न कुनै अभ्यास गर्न पाउँछन्। न कुनै अनुसन्धान। अहिले डाक्टरी डिग्री बिक्री भएको छ।’

केसीको सामु अर्को प्रश्न तेर्सियो, ‘तपाईको माग पूरा भएर तीन करोड जनताले गुणस्तरीय स्वास्थ्य र शिक्षा पाउँछन् भन्ने ग्यारेन्टी के? ’
केसी कड्किए,  ‘हो मलाईपनि विश्वास छैन नेताहरुले मेरो माग पूरा गर्छन् भन्ने। तर, तीन करोड नेपाली जनताको लागि लड्ने को? मैले पटक पटक भनिरहेको छु। म जनताको लागि लडेको हुँ। जनताले एकदिन अवश्य सुन्नेछन्। म व्यापारी हैन। मेरो अनशनको नाफा कस्लाई हुन्छ र घाटा कस्लाई हुन्छ हिसाब गरेर बस्ने।’

‘संसद विघटन हुन थोरै समय बाँकी छ यति छोटो समयमा तपाईँको माग पूरा होला त? अहिले देशमा यस्तो राजनीतिक उथलपुथल छ?’

केसीले भने, ‘आफ्नो तलव भत्ता बढाउन एकछिनमै सहमति गर्नेहरु जनताको लागि विधेयक पास गर्न किन वर्षौ लगाउँछन्? के संसदले सधैँ जनता मात्र लुट्ने हो। कालो धन सेतो बनाउने मात्रै हो। माफियाको हितमा मात्र काम गर्ने हो।’

धेरै प्रश्नहरुको उत्तर दिँदै केसीले अन्त्यमा भने,  ‘मैलै मेडिकल कलेज नखोलोस् भनेको हैन। ८० प्रतिशत जनताहरु बस्ने गाउँमा पनि खुलोस् भनेको हो। गाउँका जनताहरु सिटामोल खान नपाएर नमरुन भनेको हो। मैलै जायज माग राख्दा पूरा हुन्न भने म अन्तिम साससम्म तीन करोड नेपाली जनताको लागि लडिरहन्छु।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell