पोखराः नेकपा एमाले कास्कीले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ र २ मा सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ३ मा विवाद भएको थियो।
क्षेत्र नम्बर १ मा खगराज अधिकारी र २ मा रवीन्द्र अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको हो। ३ मा भने उम्मेदवार सिफारिसमा नै मतदान भएको थियो। बाहलवाला सांसद् सीता गिरी उक्त क्षेत्रबाट सिफारिसमा परिनन्। एमाले कास्कीले गिरी बाहेक अन्य तीन जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा पर्नेमा जगत बिक, जगन्नाथ बास्तोला र उमा कोइराला छन्।
यस्तै, क्षेत्र नम्बर १ बाट प्रदेश सभाको लागि दिलीप न्यौपाने, टीकाराम पंगेनी र सरिता कुमाल सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ प्रदेश सभामा कृष्ण थापा, धनराज आचार्य र हिरा गिरी सिफारिस भएका छन्। यस्तै, २ को प्रदेश सभाकै लागि प्रभा कोइराला,सन्जीव बहादुर कोइराला, दान बहादुर बानियाँ पनि सिफारिसमा परेका छन्।
क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभाका लागि नारायण बास्तोला, दल बहादुर गुरुङ र सरस्वती अधिकारी सिफारिसमा परेका छन्। यस्तै, सोही क्षेत्रबाट राजीव पहरी, दामोदर बैरागी र देवका पहरी पनि सिफारिसमा परेका छन्।
कास्की एमालेले समानुपातिक उम्मेदवार भने टुंगो लगाएको छैन। सिफारिस भएका उम्मेदवारहरुको अन्तिम निर्णय स्थायी कमिटीले गर्नेछ।