पर्सा : ठोरी गाउँपालिका ५ सुवर्णपुरमा एक महिलाको हत्या भएको छ। स्थानीय गेलुङ लामाकी श्रीमती ५० वर्षीय सानुलक्ष्मी बम्जनको टाउकोमा कोदालोले प्रहार गरी हत्या गरिएको हो।
घरबाट माटो लिन गएकी बम्जनको शव छिमेकी जमुना चौधरीको उखुबारीमा फेला परेको छ। मृतकको शवदेखि ५ मिटर पर रगत लागेको कोदालो भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले भने बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन्।
बिहीबार उनले दुई बोरा घर लिप्ने माटो ल्याएपछि तेस्रो पटक माटो लिन गएकी थिइन। तेस्रो पटक गएकी उनी शव भेटिएको गाउँलेहरुले बताए।
झण्डै १० वर्षअघिबाट नै बम्जनको मानसिक अवस्था विग्रिएपछि उनले औषधि सेवन गरी केही समय यता सामान्य अवस्थामा फर्किएको गाउँलेहरुले बताए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए।
घटना शंकास्पद देखिएको हेटौंडाबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान गर्न लागिएको उनले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक महेश बस्नेत नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पद एक जनालाई पक्राउ गरेको भए पनि अनुसन्धानमा असर पुग्ने भन्दै उनको नाम सार्वजनिक गरेको छैन।