PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

वाम गठबन्धनको रणनीतिः जहाँ जसको पकड त्यहाँ उसैलाई टिकट



पहिलोपोस्ट

वाम गठबन्धनको रणनीतिः जहाँ जसको पकड त्यहाँ उसैलाई टिकट

काठमाडौं : दशैंको माहोल नसकिँदै राजनीति तरंगित बनाएको वाम गठबन्धनको कार्यदल यतिबेला प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँडमा व्यस्त छ। बिहीबारदेखि गृहकार्य सुरु गरेको कार्यदलले टिकट बाँडफाँडका आधार तयार पारेको छ। गठबन्धनमा आवद्ध साना दलहरुको हिस्सा छुट्याएर एमाले र माओवादी केन्द्रबीच ६०/४० प्रतिशतको अनुपातमा निर्वाचन क्षेत्र छुट्याउने गृहकार्य भइरहेको छ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका दोस्रो तहका नेता सम्मिलित कार्यदलले निर्वाचन क्षेत्र विभाजनको आधार तय गरेको छ। जसमा पहिलो आधार हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम र २०७० को संविधानसभा सदस्य निर्वाचनको नतिजालाई आधार मानिएको छ।

कार्यदलले निर्वाचनमा जुन क्षेत्र र जिल्लामा जुन दलको पकड छ त्यही पार्टीको उम्मेदवारलाई टिकट दिने मापदण्ड बनाएको छ। अहिले उम्मेदवार सिफारिस भइसकेका जिल्लाका हकमा पनि सोही अनुसार मनोनयनको प्रक्रियामा जाने तयारी छ।

हालको मापदण्ड अनुसार प्रदेश १, ३, ५, तथा ७ मा एमालेका उम्मेदवार बढी हुनेछन्। प्रदेश २ तथा ६ मा भने दुबै पार्टीका समान हैसियतमा उम्मेदवार चयन हुनेछ।

वाम गठबन्धनमा आवद्ध नयाँ शक्ति र सूर्य चिह्न लिएर निर्वाचनमा भाग लिने तयारी गरिहेका हृदयश त्रिपाठी लगायतका नेताहरुलाई १६५ क्षेत्रमध्ये पहिले नै निर्वाचन क्षेत्र छुट्याइनेछ। बाँकी निर्वाचन क्षेत्र एमाले र माओवादीबीच ६०/४० को अनुपातमा मतको पकडका आधारमा टिकट बाँडफाँड हुनेछ।

कार्यदलले आइतबारसम्म शीर्ष नेतृत्वमा तहमा निर्वाचन क्षेत्र बाँडफाँडको विवरण पेस गरिसक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell