चितवन : नेकपा एमाले चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।
समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।
चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ।
यस्तै, क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए।
प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्त तथा (ख) मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को (क) मा विजय सुवेदी र (ख)मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।
क्षेत्र नम्बर ३ को (क)मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि (ख)मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ।
यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने एमाले चितवनका इञ्चार्ज खनालको भनाइ छ।
यसअघि नेपाली कांग्रेस चितवनले भने २७७ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ। नेकपा माओवादी केन्द्र चितवन भने छनोटको क्रममै रहेको जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए।रासस