काठमाडौंः नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्डका बारेमा पार्टीभित्र छलफल गरेको छ।
आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसले उम्मेदवारको मापदण्डकाबारेमा छलफल सुरु गरेको हो। बैठकमा यसअघि समानुपातिकमा परेकाहरुलाई नदोहोर्याउने समझदारी बनेको छ।
त्यस्तै, २५ गतेसम्म उम्मेदवारी चयन गरिसक्ने समझदारी पनि भएको छ। बैठकमा वाम एकता र त्यसपछि उत्पन्न पछिल्लो राजनीतिकअवस्थाकाबारेमा पनि छलफल भएको थियो।
कांग्रेस नेता महेश आचार्यले अरुले गठबन्धन बनाएको प्रतिक्रियामा आफूहरुको गठबन्धन नभएको बताए।
उनले बृहत् लोकतान्त्रिक गठबन्धन मुलुकलाई कम्युनिष्ट अतिवादतर्फ जान नदिन गरिएको चुनावी तालमेल मात्र भएको बताए।
उनले संविधान जारी भएर त्यसको कार्यान्वयनका लागि पहिलो पटक हुन लागेको निर्वाचनअघि भएको वाम एकता मुलुकको हितमा नभएको र यसको प्रतिवाद जनताले गर्ने बताए।
आचार्यले भने,‘ शान्ति प्रक्रियाले पूर्णता नपाउँदै सम्वन्धित एउटा पक्ष नै नरहने स्थिति बन्यो। सत्यनिरुपण तथा मेलमिलाप आायोगले भोलि प्रचण्डलाई दोषी करार गर्यो भने त्यसको भागिदार केपी ओली हुने त?’