काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा नेता विमलेन्द्र निधि तोकिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले निधिलाई संयोजक तोकेको हो।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार कांग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय थियो।
कार्यदलमा कांग्रेसबाट निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे छन्।
त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि कांग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलको अर्को बैठक आजै साँझ पाँच बजे बस्नेछ ।