PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

स्थानीयका अवरोधले उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो



दिनेश खड्का

स्थानीयका अवरोधले उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो

काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर फाल्ने ठाउँ नुवाकोट सिसडोलका वासिन्दाले गरेका अवरोधबाट फोहोर बोकेर जाँदै गरेका गाडीहरु रोकिएका छ्न्।

ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजागार्इले दिएको जानकारी अनुसार बिहानैदेखि स्थानीयले गरेको अवरोध ती गाडीहरु रोकिएको हो।

सुरुमा ३ वर्षका लागि काठमाडौंको फोहोर सिसडोलमा फाल्ने भने पनि विगत १४ वर्षदेखी काठमाडौंको फोहोर उक्त ठाउँमा विसर्जन गरिदै आएको छ। जसले  गर्दा प्रभावितहरुले समय समयमा विभिन्न मागहरु राखेर अवरोध गर्ने गरेका छन्।

दुर्इ हप्ताअघि फोहोर नउठेपछि काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले स्थानीयसँग छलफल गरेको थियो। तत्कालै तीनपिप्लेदेखि सिसडोल सडकका खाल्डाखुल्डी पुर्ने, डाक्टरसहितको अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराउने, सडक कालोपत्रे थाल्ने, प्रभावितलार्इ उचित क्षतिपूर्ती र मुआब्जाको व्यवस्था गरिदिने  विषयमा सहमती भएपछि स्थानीयले अवरोध हटाएका थिए।

ती सहमतीअनुसार काम सुरु नै नभएको भन्दै स्थानीयले फोहोरका गाडीहरु रोकेका हुन्। सहमती भएको तीन दिनसम्म ललितपुर महानगरपालिकाले दुर्गन्ध रोक्ने चुना छरेको तर, चौथोँ दिनबाट सो काम पनि रोकेको स्थानीयको गुनासो छ।

गत वर्ष सो क्षेत्रका संयौ प्रभावितहरुले धान नफलेकाले काटेर फोहोरसँगै फ्याक्नु परेको, २० जनाले क्यान्सरबाट अकालमै ज्यान गुमाएको, गार्इवस्तुले खोलाको पानी खाँदा रोग लाग्ने समस्याका देखिएको गुनासो गरेका छन्।

सिसडोलबाट १ किलोमिटर अघितिरको बन्चरेडाँडामा स्थायी फोहोर फ्याक्ने ठाउँ हुँदाहुँदै पनि त्यहा फोहोर फ्याक्नका लागि पूर्वाधार निर्माणसमेत नथालिएको भन्दै स्थानीयले अवरोध गरेका हुन्।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउपालिका र धादिङको धुनीवेशी नगरपालिकासँग मिलेर बन्चरेडामा कसरी फोहोर व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल थालेको बताएका छन्।

तीन पिप्लेदेखि बन्चरेडाँडा ११ किलोमिटर सडकमा करिब पाँच वर्षअघि नै स्तरोन्नती र टेण्डरका लागि ठेक्का भए पनि अहिलेसम्म काम सुरु हुन नसकेको स्थानीयको गुनासो छ।

 

फोहोर जथाभावी छर्दै लैजादा वरिपरिको बाटोसमेत हिड्न नसक्ने भएको स्थानीय श्यामकृष्ण बलामीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell