PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वाम एकता : माओवादीको एमालेकरण कि एमालेको प्रचण्डकरण?



सूर्य खड्का

वाम एकता : माओवादीको एमालेकरण कि एमालेको प्रचण्डकरण?

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको चुनाव केन्द्रित तालमेल र चुनावपछिको बृहत वाम एकताको अभियानले ती पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनको अवस्थामा तरंग सृजना गरेको छ भने राष्ट्रिय राजनीतिमा बृहत ध्रुवीकरण सृजना गरेको छ। मुलतः दुई ठूला वाम शक्ति बीचको एकता अभियानमा कुन पार्टी आन्तरिक शक्ति सन्तुलनमा श्रेष्ठ वा हाबी होला भन्ने चिन्ता र चासो पनि एकता सँगसँगै शुरु भएको छ।
 
माओवादी केन्द्रका असन्तुष्ट नेता कार्यकर्ता माओवादीको एमालेकरण भएको ठान्छन भने एकाथरी एमाले प्रचण्ड नै एमाले भएपछि उनले एमालेकै प्रचण्डकरण गर्ने शंका गर्छन। आखिर एमाले र माओवादी एकताले एमालेको प्रचण्डकरण गर्ला कि माओवादीको ओलीकरण गर्ला त? बहस निकै रोचक छ। किनभने एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आफैमा चतुर राजनीतिक खेलाडी हुन।

माओवादीको एमालेकरण कसरी?

जनयुद्धको बलिदानी संघर्षबाट शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आएको माओवादीका लागि जनताको मतबाट ठूलो दलका रुपमा स्थापित हुन कम्तिमा केही वर्ष असम्भव थियो। 

२०६४ मा जनताबाट पाएको बहुमत जोगाउन र ढंगसँग टिकाउन चुकेको माओवादी त्यस यता २०७० को चुनाव होस वा हालैको स्थानीय चुनावमा पनि केवल प्रतिरक्षात्मक अवस्थामा पुग्यो। उसले चाहेर पनि सत्ता नेतृत्वका लागि आवश्यक बहुमत एक्लै हासिल गर्ने सम्भावना तत्काल देखेन। फलतः उसले ठूलो वाम दल एमालेको एकता प्रस्ताव स्वीकार गर्‍यो। 

अहिले दुई पार्टी बीचको एकता भए पनि यसलाई माओवादीमा विलय भएको हो भनेर एमालेका कित्ताबाट नेता शंकर पोखरेलहरु भनिरहेका छन। यही भाषामा असन्तुष्ट माओवादी नेता गोपाल किराँतीहरु प्रचण्डले पार्टी एमालेमा विलय गरेका कारण आफैले माओवादीको पुर्नगठन गर्ने चेतावनी दिइरहेका छन।

खासमा एमाले ठूलो दल हो।  माओवादी संख्या, साइज, इतिहास सबैतिर एमालेभन्दा सानो नै हो, संसददेखि सडकसम्म। प्राकृतिक नियम नै हो एउटै तलाउमा ठूलो माछाको आहार हुने नियति सानो माछाकै हुने गर्छ। यसरी हेर्दा स्थानीय तहदेखि बलियो कार्यकर्ता पंत्ति र गतिशील संगठन भएको एमालेको राप, चाप र धापमा माओवादीहरु किनारा लाग्दै जाने आशंकालाई अन्यथा भन्न सकिँदैन।
 
किनभने पार्टी संगठन प्रणलीमा पोख्त एमाले पंत्तिले कमजोर संगठन पद्धतिको नयाँ अभ्यस्त माओवादी पंत्तिलाई सिधै निलिदिन सक्छ। यसो हुँदा एमालेमा माओवादीको विलय नै भएको प्रमाणित हुने खतरा रहिरहन्छ।

आगामी चुनावमा पनि ६० प्रतिशत एमाले र ४० प्रतिशत माोवादीका उम्मेदवार चुनाव लड्नेछन्। 

यसले प्रान्तीय वा संसदीय दुवै चुनावमा माओवादी पंक्ति जन्मदै दोस्रो वा कान्छो भएर आउने छ। त्यसमा पनि आफूले पाएका ४० प्रतिशत सिटमा नै माओवादीको जित सुनिश्चित हुन सक्छ। यसले एमाले धेरै स्थान जित्ने र माओवादी थोरै संख्याको सिटमा पनि धेरैमा हार्यो भने पनि माओवादी भित्रभित्रै कमजोर हुने र एमालेको ह्याँकुलाले मिच्दै अघि जाने सम्भावना जिवित रहन्छ।

सैद्धान्तिक र वैचारिक कुरालाई एकता महाधिवेशनपछि टुंगोमा पुर्‍याउने भनिएको भए पनि त्यसअघि नै एमालेमा माओवादी हाबी हुने छैन। किनभने एमाले घरमुलीको हैसियतमा रहने छ, भने उसले नवप्रवेशी वा आगन्तुक सबैलाई आफू पछि परीपरी अघि बढाउने त्याग गर्नेछैन।
 
नेतृत्व तहमा प्रचण्डको शासकीय महत्वाकांक्षा पूरा गर्न वा व्यवस्थापन गर्न ओली त्रास र आशको करबलमा सहमत होलान तर, सो पद्धति देशैभर स्थानीय गाउँटोल र बस्तीबस्तीसम्म लागू हुने सम्भावना कमजोर छ।

स्वभावैले ठूलो रुखको सामु सानो रुख सेपमा नै बाँच्नु पर्ने नियति हुन्छ। सेपमा कतिन्जेल टाँक्सिन सहमत होला माओवादीको जुझारु कित्ताको देशव्यापी सञ्जाल? यसले नै माओवादी एमाले एकताको गुत्थी सतहमा ल्याउने छ।

एमालेको प्रचण्डकरण कसरी होला?

२००६ सालको कम्युनिष्ट बीज र ३० को दशकको उग्रवामपन्थबाट आएको भए पनि एमाले मुलतः नामले मात्रै कम्युनिष्ट र चरित्र, चिन्तन, व्यवहार तथा नीतिका हिसाबले ऊ एक समाजवादी आदर्श बोक्ने प्रजातान्त्रिक पार्टी हो। 

एमालेमा नेता भद्धा, भुत्ते र सुखसयलकारी छन् भने कार्यकर्ता तथा संगठन पंत्ति नेतृत्वभन्दा धेरै जुझारु, इमान्दार र क्रियाशील छन्। जनयुद्धको आलोकमा खलनायक बने पनि, शान्तिकाल यताको दशक लामो र उनको पूरै राजनीतिक जीवनको आलोकमा प्रचण्ड एमालेका दर्जनौँ नेताभन्दा निकै धेरै नेतृत्व क्षमता भएका वामनेता हुन।
 
एमालेका तीन थान पूर्वप्रधानमन्त्री दुई भूतपूर्वअध्यक्ष र वहालवाला अध्यक्ष केपी ओलीको तुलनामा प्रचण्ड डायनामिक लिडरसीप क्षमताका चतुर राजनीतिज्ञ हुन। विपरित धारका विरोधीहरुलाई आफ्ना कदमप्रति तटस्थ राख्न सक्ने र समर्थकहरुलाई गर या मरमा उर्तान सक्ने नेतृत्व खुबी उनमा छ।

२०५० को दलकदेखि सकारात्मक वा नकारात्मक कुनै न कुनै कोणबाट नेपाली राजनीतिका केन्द्रीय निर्णायक पात्र र २०६३ को परिवर्तनपछि त एकल केन्द्रीय खेलाडी रहेका प्रचण्डसँग आफ्नो पछाडि अरुलाई लाईन लगाईदिन सक्ने चमत्कारीक नेतृत्व खुबी छ। विदेशी दुनियाँ र खासगरी नेपाली राजनीतिमा खेल्ने उत्तर र दक्षिण छिमेकका एक से एक एजेन्सीहरुलाई पनि चकित पार्न सक्ने हर्कतमा प्रचण्ड पोख्त छन। उनी आफ्ना कुराको प्रतिरक्षा सहजै गर्न सक्छन।

उनले एमालेभित्रको चुस्त संगठन र क्रान्तिकारी भावनाका इमान्दार कार्यकर्ताको देशव्यापी पंत्तिलाई आफूमा आकर्षित गर्न चतुरयाईपूर्वक मेहनेत गरे भने उनले एमालेको संठन र कार्यकर्ता पंतिलाई नै प्रचण्डमय बनाईदिन सक्छन। त्यसका लागि उनले एमालेभित्रै पनि वामदेव गौतम, मधाव नेपाल, घनश्याम भुसाल जस्ता शक्तिाशली पात्रहरुको साथ पाउन सक्छन। किनभने सिद्धान्तको कुरादेखि भावना र निकटताका हिसाबले प्रचण्ड माओवादी अध्यक्ष भएर पनि देशैभर धेरै एमाले नेता कार्यकर्ता पंत्तिका आदर्श नेता रहँदै आएका छन।

एमाले आवरणमा जति सग्लो पार्टी देखिन्छ, भित्र हेर्दा त्यो गुटहरुको महासंघ जस्तो छ। नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिँदा केपी ओलीले वामदेवको साथ लिन निकै पापड बेल्नु परेको थियो। आठौँ महाधिवेशन बुटवलबाट अध्यक्ष चुनिदाँ नेता झलनाथ खनालले पनि वामदेवकै साथ पाएका थिए।
 
२०५६ मा एमाले फुटाएर आफ्नै नेतृत्वमा माले ब्यूताए पनि अन्तिममा एमालेमै फर्केका वामदेव नै एमालेभित्रको संस्थापन नेतृत्व स्थापित गर्ने निर्णायक पात्र हुन। पूर्वमालेको खेमा एमालेभित्र बहुमतमा छैन, तर नेपाल,ओली र खनालको गुटमध्ये कसलाई आन्तरिक पार्टी सत्तामा स्थापित वा विस्थापित गर्ने भन्ने तहमा अन्तिम निर्णायक रहँदै आएको छ। एमालेका अरु गुटमा फेरबद आईरहन्छ, तर वामदेव गुट स्थिर र एकताबद्ध रहँदै आएको छ।

अहिले एमाले माओवादी एकताका सूत्रधार र मुख्य मियो एमालेका तर्फबाट वामदेव र माधवहरु नै हुन्। ओली भर्सेज माधव नेपाल बीचको आन्तरिक शक्ति संघर्षमा वामदेवले पछिल्लो समय माधवलाई साथ दिएको घट्नाक्रमहरुले नै प्रमाणित गर्दै आएकाे छ।

यसरी हेर्दा वामदेव, माधव र प्रचण्ड नेतृत्वका माओवादी खेमा एकीकृत पार्टीमा हाबी हुन सक्ने सम्भावनालाई किन पनि नकार्न सकिँदैन भने एमाले अध्यक्ष ओलीले पार्टीलाई आफ्नो निजी र स्थायी गुटका रुपमा मात्रै संचालन गर्दै आएका छन।
 
यो कुरा एमालेभित्रको ओपन सेक्रेट हो। भलै ओलीको सार्वजनिक लोकप्रियताका कारण त्यो पक्ष आझेलेमा छ। आक्रोशमा पोखिएको छैन। तर माधव नेपाललाई एमालेभित्र ओलीसँग नवौँ महाधिवेशनमा अध्यक्षमा व्यहोरोको पराजयको बदला लिनु नै छ। पूर्वमहासचिवको १५ वर्षे अनुभवको अन्तिम खेलाँ खेल्नु नै छ। चित्त सानो  भए पनि चतुर कुटनीतिका साथ सबै पक्षबीच सन्तुलन मिलाउन सक्ने माधवको क्षमतालाई, वामदेवको इमान्दार छबी र संगठनको पकडलाई आन्तरिक रुपमा क्यास गर्न सके भने ओलीले हेर्दाहेर्दै एमालेको प्रचण्डकरण नहोला भन्न सकिन्न। त्यसो भयो भने घर साङ्लोलाई वन साङ्लोले खाए झै नवप्रवेशी नै भए पनि एमालेमा माओवादी पक्ष हाबी, दबाबी हुन सक्छ।

एकताको गन्तव्य तय गरेका एमाले माओवादीले पार्टी एकताको भावनात्मक पाटोदेखि नीति विचार र नेता कार्यकर्ता व्यवस्थापनको चुनौती समाना गर्न सजिलो छैन। जीवनभर एमाले भएर संगठन जोगाएकाहरु असोज १७ को एकता घोषणासँगै बनेका माओवादीका नवप्रवेशी एमालेहरुलाई संसदीय वा लाभका पदहरुमा सहजै मैदान खाली गरिदिने उम्दा उदारवादी बन्लान भन्ने मीठो कल्पना मात्रै हो।

नेपालको वामपन्थी राजनीतिका विश्लेषक डा. सुरेन्द्र केसीकै शब्दमा परिणाम नहेरेसम्म एमाले माओवादी एकतालाई उनीहरुले दाबी गरेजस्तै समाजवाद प्राप्तीको पवित्र गठबन्धन भन्न सकिने सुविधा छैन। नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहकै शब्दमा उस्तै चरित्रका दुई एमाले भैरहनुभन्दा एकीकृृत हुनु एमाले माओवादीको बुद्धिमतापूर्ण निर्णय त हो नै। तर, एकीकृत पार्टीमा एमालेकरण र माओवादीकरण के हुने भन्ने कुराले पनि यस एकताको दीगोपना निर्धारित गर्नेछ।

आफूलाई सर्वेसर्वा भैरहनु पर्ने ओलीको मैमत्त स्वभाव र जहिल्यै पहिलो र निर्णायक नभई बस्नै नसक्ने प्रचण्डको अस्थिर स्वभावको मिलन जति अप्रत्याशित छ त्यो व्यवहारतः लागू हुन पनि उत्तिकै कठिन छ। कांग्रेसको उदाउँदो साखको तुजुक झार्न माओवादीसँग एकताको वैशाखी टेकेका ओलीलाई वैशाखी नै घाडो भयो वा घातक लाग्यो भने दुई पार्टीको एकता तासको घर नबन्ला भन्न पनि सकिन्न। किनभने विरोधको राजनीतिका पण्डित ओली र भत्काउने र बनाउने राजनीतिका पारङ्गत प्रचण्ड चुनावसम्म मात्रै कांग्रेसका इखले एकस्वर हुने हुन। चुनावी नतिजापछि त उनीहरु बीचमा नै आन्तरिक पार्टी सत्ताका लागि महाभारत सुरु हुनु नै छ। त्यो गतिशील पार्टीको अनिवार्य शर्त हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell