PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य



पहिलोपोस्ट

विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य

काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी रुजेश शाहीले कांस्य जितेका छन्।

रुजेशले पुरुष ६० केजीमा नेपाललाई कांस्य दिलाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले शुक्रबार जानकारी गराए। विभिन्न राष्ट्रका ११ खेलाडी सहभागी रुजेशको स्पर्धामा म्यानमार र मलेसियाका खेलाडी क्रमशः पहिलो र दोश्रो भए।

रुजेश वर्षेनी हुने विश्व च्याम्पियनसिपअन्तर्गत २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन्। त्यत्ति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए।

दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अर्का नेपाली खेलाडी कमल भण्डारी भने पदकविहीन बने। ८ खेलाडी सहभागी पुरुष ५५ केजीमा कमल प्रि जजिङ राउन्डबाटै बाहिरिए। गत अगष्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा भने कमलले कांस्य जितेका थिए। त्यो उनको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

प्रतियोगिताअन्तर्गत आइतबार एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टीमिटर उचाईसम्ममा ननिता महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। ननिताको स्पर्धामा पनि ८ प्रतिस्पर्धी रहने छन्। सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा २०१६ मा भएको आठौं संस्करणमा कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पदक जित्ने महिला खेलाडीको इतिहास रचेकी थिइन्। आठौं संस्करण ननिताको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell