PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

साम्यवादी गणतन्त्रका लागि एमाले-माओवादी एकता : विमलेन्द्र निधि



पहिलोपोस्ट

साम्यवादी गणतन्त्रका लागि एमाले-माओवादी एकता : विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा पनि साम्यवादी गणतन्त्रन निर्माणका लागि भएको बताएका छन्। 

'उहाँहरुको चुनावी तालमेल प्रधानमन्त्री बन्नका लागि मात्र होइन,' नेता निधिले पहिलोपोस्टसँग भने, 'चुनावी तालमेल देशमा एउटामात्र कम्युनिस्ट पार्टी बनाउनका लागि भइरहेको छ।' 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे सहमतिपत्रको रोडम्याम नेपालमा एउटामात्र कम्युनिस्ट पार्टी बनाउनका लागि भएको उनको दावी छ। 'यो अन्तत कम्युनिस्ट नेपाल बनाउने पथ हो। प्रचण्डपथ भनेजस्तै यो कम्युनिज्म पथ,' निधिले भने।
१५ हजार मानिसको बलिदानीबाट हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्र भन्दै आएका नेताहरु एकाएक एक कम्युनिस्ट पार्टीमात्र बनाउन जुटेको बताउँदै उनले लोकतान्त्रिक धारलाई लत्याउने सम्भावना बढेको संकेत गरे। 

'चुनावी तालमेलको उद्देश्य के छ त? नेपालमा एउटामात्र कम्युनिस्ट पार्टी बनाउने। राजनीतिक चरण र राष्ट्रिय दायित्व त संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान सर्वस्वीकार्य गराउने, त्यसलाई कार्यान्वयन गराउने हुनुपर्ने हो,' उनले भने, 'तर माओवादी र एमालेले के भन्दैछ भने - एक कम्युनिस्ट।' 

मुलुक प्रादेशिक र केन्द्रीय निर्वाचनमा अघि बढेर संविधान कार्यान्वयनको एउटा चरण पूरा गर्नुपर्ने समयमा दलहरु एक कम्युनिस्ट पार्टी बनाउन लागेको बताउँदै उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रबाट कम्युनिस्ट गणतन्त्र तिर लैजाने प्रयास भयो। अब हामी कम्युनिस्ट नेपाल बनाउने कि लोकतान्त्रिक गणतन्त्र नेपाल नै राख्ने? हामी जनतासामु प्रश्न खडा भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell