
राजविराज : भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार साँझ साधारण तारिखमा छुटेका छन्।
सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले बाबुछोरालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुपौलको कुनौली थाना गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ गरेका देवनारायण र उनका छोरा अजय विरुद्ध भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको थियो। भारतको कुनौलीकी १८ वर्षीया ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेकी थिइन्।
ती युवतीका परिवारजनले कुनौली थानामा अपहरणसम्बन्धी उजुरी दिएपछि अजय र उनका बुबा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका बुझिएको छ।
२०७३ साउन १३ गते दशगजा क्षेत्रअन्तर्गत नेपाल–भारत सीमामा पर्ने तिलाठीस्थित भारतीय पक्षले बनाएको अवैध बाँध भत्काएको विषयमा देवनारायणकै अगुवाइमा भारतीय र नेपालीबीच झडप भएको थियो। सोही घटनाको बदलास्वरुप उनी र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएको तिलाठीका बासिन्दाको आरोप छ।रासस