PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

राखेप च्याम्पियनसिप कात्तिकमा आयोजना हुने, २७ खेल समावेश



पहिलोपोस्ट

राखेप च्याम्पियनसिप कात्तिकमा आयोजना हुने, २७ खेल समावेश

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ। राखेप च्याम्पियनसिप सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए। ‘राखेप च्याम्पियनसिप’ को नाममा च्याम्पियनसिप सञ्चालन गरिने छ।

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी च्याम्पियनसिपमा विभिन्न २७ खेल समावेश गरिने भएको छ।

च्याम्पियनसिपमा गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेलको प्रतिस्पर्धा हुनेछ। उक्त खेलका सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सञ्चालन गर्न बजेट उपलब्ध गराउने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ४ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

बैठकले मयुरलाई मस्कटका रुपमा प्रयोग गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिए। करिब २ हजार ५ सय खेलाडीको सहभागिता रहने यो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने छ।

प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूवर्क सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचार प्रसार, खेल सामाग्री तथा पोशाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरु पनि गठन गरिएको छ। प्रतियोगिता कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell