PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

वामदेवसँगको आफ्नो लामो मैत्रीपूर्ण सम्बन्धले एकता प्रक्रियामा सहयोग पुग्योः प्रचण्ड



पहिलोपोस्ट

वामदेवसँगको आफ्नो लामो मैत्रीपूर्ण सम्बन्धले एकता प्रक्रियामा सहयोग पुग्योः प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको खुलासा गरेका छन्। 

शनिबार पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  यस्तो खुलासा गरेका हुन्। 

एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याउनुभएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको अध्यक्ष प्रचण्डको भनाइ थियो । 

पोलिटब्युरो सदस्यमाझ अध्यक्ष प्रचण्डले भने, “समाजवादी क्रान्तिको अभियान घिसेपिटे तवरले चल्दैन भन्नेमा हामी पनि पुगेका थियौँ  एमालेका तर्फबाट पनि वामपन्थी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने भन्ने प्रस्ताव आयो । उहाँहरु माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने तहमा आइपुग्नुभयो र एकता संयोजन समिति गठन भयो।” 

उपाध्यक्ष वामदेवसँग आफ्नो लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र सो सम्बन्धले पनि एकता प्रक्रियामा सहयोग पुगेको भन्दै अध्यक्ष प्रचण्डले विगतमा पनि तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनालसँग पार्टी एकताका विषयमा पटकपटक छलफल भएको बताए। 

संविधानले व्यवस्था गरेको समाजवाद लागू गर्न सानोतिनो शक्तिले काम नगर्ने भन्दै उनले बृहत् वाम धु्रवीकरणले मात्रै नेपाली जनताको यो महान् लक्ष्य प्राप्त हुने विश्वासका साथ एकता प्रक्रिया अगाडि बढाउन आफूहरु सहमत भएको स्पष्ट पारे। 

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई समयको आवश्यकता र राष्ट्रिय चाहनाको संज्ञा पनि दिए। उनले भने, “माओवादीभित्र कसरी भयो यस्तो सोच्दै नसोचेको काम भन्ने आशंका छ । यो सफल हुन्छ त भन्ने चिन्ता र चासो पनि छ । तर चुनौती उठाएरै एकता प्रक्रियामा सहभागी हुन लागिएको हो । यसले नेपाल र नेपाली जनताको हित गर्छ । आशंका गर्नुको कुनै अर्थ रहँदैन।” 

“पार्टी एकता कसैले कसैलाई निल्ने विषय होइन, यो त समान उद्देश्यका लागि वैचारिक एकतासहित नयाँ उचाइमा पुग्ने प्रक्रिया हो,” प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, “हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन्। त्यसमा अडिएर एकता हुँदैन। एमाले–माओवादी दुवैले बहसको प्रक्रियाद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हामी आफैँ पनि रुपान्तरणको प्रक्रियामा छौँ। कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रुपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ।” 

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थीको एकता राष्ट्रको हितमा भएको बताए। उनले भने, “स–साना समूहमा रहेर समाजवादको कार्यभार पूरा गर्न सकिँदैन । समाजवादका पक्षधर सम्पूर्ण शक्ति एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । हाम्रो एकता र सहकार्यको प्रयास राष्ट्रको हितमा छ । यो प्रयासलाई खुट्टा नकमाइकन एकतामै लाग्ने संकल्प गर्नुपर्छ ।” 

अर्का नेता रामबहादुर थापाले पार्टी एकता एमालेको माओवादीकरण र माओवादीको एमालेकरण नभएको बताए। थापाले भने, “बजारमा माओवादीको एमालेकरण वा एमालेको माओवादीकरणजस्ता प्रायोजित विषय उठाइएको छ। माओवादी एमालेमा विलय हुने होइन, एमाले माओवादीमा विलय हुने कुरा पनि होइन । बरु, दुवैले आफ्ना दृष्टिकोण र मान्यताबाट माथि उठेर क्रान्तिको नयाँ सिद्धान्त निर्माण गर्ने र नयाँ पार्टी निर्माण गर्ने हो ।” रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell