
विराटनगर: बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीय अनिता दनुवार, ४० वर्षीय दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीय हर्कमाया थापा, ५२ वर्षीय मनकुमारी तामाङ र २७ वर्षीय वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीय छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्दै सो क्षेत्रमा परिक्रमा गराएका थिए।
गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट रु ७०० ती बालिकाले चोरी गरेको आरोप उनीहरुको थियो।
प्रहरीले उक्त घटनाको खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै तीन जनालाई पक्राउ गरेको र अनुसन्धानपश्चात् थप चारजनालाई पक्राउ गरेको हो। रासस