PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बुटवलको सिद्धबावा क्षेत्रमा एक सय १३ स्थानमा पहिरो: १० वर्षमा ६६ जनाको ज्यान गयो



चन्द्रकान्त खनाल

बुटवलको सिद्धबावा क्षेत्रमा एक सय १३ स्थानमा पहिरो: १० वर्षमा ६६ जनाको ज्यान गयो

रुपन्देही : दुर्घटनाग्रस्त बुटवल तानसेन सडकको विकल्प खोज्न सरोकारवालाले माग गरेका छन्। 

सरकारले सिद्धबावा क्षेत्रकाे दुर्घटनालार्इ वेवास्ता गरेको भन्दै सरकारवालाले छिटै विकल्प खोज्नुपर्ने बताए। सुरक्षित यात्रा अभियानले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्रियमा वक्ताहरुले सुरुङमार्ग, बेन्चकट प्रविधि तथा रकनेट प्रविधि जुनसुकै प्रयोग गरेर भए पनि मानवीय मृत्युलाई घटाउने गरी काम गर्नुपर्ने औल्याए। 

कार्यक्रममा सांसद सोमप्रसाद पाण्डेले सिद्धबावाको दीर्घकालीन सडक व्यवस्थापनका लागि सुरुङमार्ग सबैभन्दा उपयुक्त विकल्प भएको बताए। आफूले बिगतका वर्षमा संसददेखि सडक विभागसम्म कुरा उठाएको भन्दै ठोस काम हुन नसकेकोमा चिन्तित भएको बताए। उनले अबको दुई वर्षभित्रमा विकल्प निकाल्ने दावी गरे।

कार्यक्रममा इन्जिनियर लिलाबहादुर भण्डारीले सिद्धबावामा अपनाउन सकिने सुरुङमार्ग, बेञ्चकट, रकसेटलगायतका प्रविधिका विषयमा जानकारी गराए। साढे तीन किलोमिटरको जोखिमपूर्ण सडकमा बेन्चकट प्रविधि उपयुक्त हुने उनको सुझाव थियो।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडकखण्डमा एक सय १३ स्थानमा पहिरो झर्ने गरेको बताउँदै तिनै पहिरोमा परी पछिल्लो दश वर्षमा ६६ जनाले ज्यान गुमाएकाले संवेदनशील हुन सरोकारवालालाई आग्रह गरे। 

हरेक दिन ठूलाठूला ढुङ्गासहितको धुले पहिरो झर्ने उक्त सडकखण्डको बैकल्पिक मार्ग समेत नहुँदा यात्रुले सास्ती पाउँदै आएका छन् भने पछिल्लो केही दिन यता सडकखण्डमा ३ जनाले ज्यान गुमाएका छन।

सो अवसरमा इन्जिनियर एसोसिएसनका अध्यक्ष दुजेन्द्र बस्नेत, रोडा ढुङ्गा व्यवसायी गोपाल ज्ञवाली, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर राना, प्रेम पाण्डे, पदम कार्की, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, सुर्यबहादुर भट्टराई लगायतले आर्थिक, पर्यटनमार्गमा रहेको बुटवल पाल्पा सडकखण्ड व्यवस्थापनमा तत्काल काम सुरु गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell