कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्यभार एउटै सचिवले सम्हाल्दै आएका छन्।
कर्मचारी अभावमा अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नम्बर २, ३ र ४ को काम वडा सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका सहयोगीका रुपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन उनीहरुलाई निकै समस्या भएको छ ।
‘सेवाग्राहीको चाप अधिक हुँदा काम गर्न भ्याई नभ्याई भएको छ’ वडा सचिव अवस्थीले भने। सेवाग्राहीको अधिक भीडभाड हुने वडा नम्बर ८, ९ र १० मासमेत एकजना मात्रै स्थायी कर्मचारी वडा सचिवका रुपमा कार्यरत छन्।
यसैगरी, वडा नं ६, ७ र ११ का लागिसमेत एकजना मात्रै सचिव छन्। कर्मचारी अभावले नगरपालिकाले तीनवटै ठाउँमा संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ।
नगरपालिकाको वडा नं १ र १२ भने छुटृा–छुटृै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ।
नगरपालिकाका १२ वटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्न कर्मचारी अभावले सकिएको छैन नगर प्रमुख दिलबहादुर ऐरले भने,‘कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन गाह्रो भएको छ।’
कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दै आएपनि कर्मचारी पाउन नसकिएको उनले बताए।
नगरपालिकामा हाल कार्यकारी अधिकृत एक, नायब सुब्बा एक, लेखा अधिकृत एक, लेखापाल एक, खरिदार तीन, प्राविधिक सहायक दुई, अमिन एक, कम्प्युटर सहायक एक र चारजना कार्यालय सहयोगी छन्।रासस