
काठमाडौं : संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लस भेगास घटनादेखि भने झस्किएका छन्।
एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्न सक्नेगरी कसरी शक्तिशाली बन्न पुग्यो भन्ने बहस अहिले उनीहरुबीच सुरु भएको छ।
हुन पनि लस भेगास नरसंहार कुनै एक जना व्यक्तिले आफूसँग भएको एउटै बन्दुकबाट सम्भव छैन। कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२ औँ तल्लाबाट भूईँमा गरेको आक्रमणबाट ५९ जना मारिएका छन् भने ५०० भन्दाबढी घाइते छन्। घाइतेलाई धेरै चोट लागेको, शरीर थिलथिलो भएको चिकित्सक बताउँछन्।
यसैहप्ता ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकले आफूसँगको अनुमति प्राप्त बन्दुकले लस भेगासमा गरेको नरसंहारको संसारमै चर्चा छ अहिले। त्यसमा आफ्नो संलग्नताको दाबी आतंकवादी समूह आइएसले गरे पनि प्रहरीले पत्याएको छैन। आइएससँग प्याडकको संलग्नताको चर प्रहरीले भटेको छैन।
बन्दुक कति शक्तिशाली थियो? घटनाको केही दिन यो चर्चा चल्यो। प्रहरीले अनुसन्धान थाल्यो। तथ्य भेटियो आक्रमणकारीले आफ्नो बन्दुकमा अन्य अत्याधुनिक उपकरण जोडेर घातक बनाएका रहेछन्। यसैका कारण त्यत्रो नरसंहार भएको रहेछ। यो रहस्य खुलेपछि यतिखेर अमेरिकामा बन्दुकलाई अधिकार ठान्नेहरु पनि झस्किएका हुन्।
लस भेगासमा नरसंहार गराउनकै लागि आफ्नो बन्दुकमा ‘बम्प स्टक’ नामक उपकरण जोडेका रहेछन्। अहिले आएर बन्दुक अभियन्ताले त्यस्तो नियम कसैलाई पनि दिन नहुने बताएका छन्। यस्तो प्रविधिमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको नयाँ माग आएको छ।
कुनै व्यक्तिसँग रहेको अनुमतिप्राप्त बन्दुकमा उपकरणहरु जडान गरी आमनरसंहारमा यसरी प्रयोग गर्न थालेपछि यसले निम्त्याउने जटिलताबारे वकालत थालिएको छ।
बन्दुकलाई अधिकारका रुपमा वकालत गरिरहेका उनीहरुले नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि संघीय कानुनसँग तादात्म्य राख्छ या राख्दैन भनी तत्काल समीक्षा थाल्न आग्रह गरेका छन्।
झन् बढ्दो छ अमेरिकामा बन्दुक अधिकार। सन् २००० मा गरिएको पिउ सर्वेका अनुसार २९ प्रतिशत अमेरिकीले मात्र बन्दुक अधिकारका पक्षमा मत राखेका थिए।
करिब ६५ प्रतिशत अमेरिकीको बन्दुक नियन्त्रण गर्नुपर्ने मत थियो। तर अहिले भने बन्दुक अधिकारका पक्षधर झन् बढेका छन्। सन् २०१६ मा गरिएको यसै विषयको सर्वेमा ५२ प्रतिशत नागरिकले बन्दुक राख्न पाउनुपर्ने बताएका थिए। जम्मा ४८ प्रतिशत नागरिक मात्र बन्दुकको विपक्षमा या बन्दुक नियन्त्रणका पक्षमा थिए।
अमेरिकामा बन्दुकलाई संस्कृतिको रुप दिर्इँदैछ, बरु बन्दुक नियन्त्रणको आवाज झन मधुरो हुँदैछ।
सो संस्थाले यसैवर्ष पनि बन्दुकबारे सर्वेक्षण गरेको थियो। त्यसमा ५१ प्रतिशत अमेरिकी बन्दुक नियन्त्रण गर्न नहुने पक्षमा छन्। सन् २०१७ मा मात्र कम्तीमा ३४६ जनाको ज्यान गइसकेको छ नागरिकको बन्दुकबाट।
यसरी अमेरिकामा गएका तीन बर्षयताको तथ्यांक हेर्दा प्रत्येक दिन बन्दुकबाटै कम्तीमा एकजनाको ज्यान गइरहेको छ। कतिपय वर्षमा त त्यो भन्दा पनि बढी छ ।
अमेरिकी संस्था नेशनल राइफल एसोशिएसनको मनमा प्याडकले आफ्नो बन्दुक स्वचालित बनाएर पड्काएपछि झस्को पसेको हो।
उनले यस्तो प्रविधिको प्रयोग गरेर आफ्नो बन्दुकलाई शक्तिशाली बनाए कि यसले अब अमेरिकी बन्दुक संस्कृतिमा नै प्रश्न उठाइदिएको छ।
यसअघि भान्सा, विद्यालय, कार्यालय वा होटलमा कुनै सन्कीले साथको बन्दुकबाट केहीको ज्यान लिने गरेकोमा अब अमेरिकी बन्दुकहरु यसरी स्वचालित बन्दै जाने हो भने यसले अरु पनि लस भेगास दोहोरिन सक्छ । त्यसैले लाइसेन्सप्राप्त बन्दुकलाई अब त्यसो गर्न दिन नहुनेमा उनीहरुको चासो बढेको छ।
त्यसो त दि न्युयोर्क टाइम्समा ड्याभिड ब्रुक्सले लेखेअनुसार विश्लेषण गर्ने हो भने अमेरिकामा बन्दुक नियन्त्रण अब निकै गाह्रो विषय भइसकेको छ।
उनको तर्क छ, अहिल्यै पनि उक्त बन्दुक अधिकारको वकालत गर्नेहरु धेरै बलिया छन्।
राज्यले यदि बन्दुक नियन्त्रणको कानुन बनाउने भयो भने पनि उनीहरुले संसदसम्मै आफ्नो शक्ति पुर्याउन सक्छन्। उनीहरुसँग धेरै पैसा छ र पैसाले नै यस्तो अभियानलाई निस्तेज पारिदिन सक्छन्। उनीहरु आम रुपमा अमेरिकीसँग पुग्न सकेका छन्। जसका कारण अमेरिकामा अहिले बन्दुक राख्नु संस्कृति नै बन्न पुगेको छ।
एक अमेरिकी अनुसन्धान संस्थाको हवालादिँदै भारतको जनसत्ता दैनिकले यसैहप्ता भेगासको पाठ शीर्षकको आफ्नो सम्पादकीयमा भनेको छ, अमेरिकामा तीन वर्षमात्र अघि प्रहरी र नागरिसँग गरी करिब ३७ करोड वटा बन्दुक थिए। जबकि त्यस समय अमेरिकाको जनसंख्या ३२ करोड मात्र थियो।
सन् २०१४ मा निकालिएको पछिल्लो तथ्यांकमा अमेरिकामा भएका हत्याकाण्डबाट करिब १५ हजार जनाको ज्यान गएको थियो। ती हत्यामध्ये करिब ६८ प्रतिशतको ज्यान नागरिकका बन्दुकबाटै भएको थियो। त्यस्तै १७ वर्षमुनिका करिब १३ सय बालबालिका घरमा रहेको बन्दुक चलाउदा घाइते भएका थिए।
निवर्तमान अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको उत्तरार्धतिर भन्नेगर्थे –मेरो कार्यकालमा गर्न नसकेको र पछुतो लाग्दो एउटा काम बन्दुक नियन्त्रण गर्न नसक्नु हो।
साँच्चै नै यो बन्दुक संस्कृतिले अमेरिकालाई कहाँ पुर्याउला भनेर चिन्ता गरिरहेकाहरु अहिले झन् ठूलो त्रास र शोकमा छन्। उनीहरुको पछिल्लो त्रास स्वभावत भेगास हो र त्यो भन्दा पनि यति ठूलो संख्याका अमेरिकी बन्दुक यसरी नै स्वचालित र अत्याधुनिक बन्दै गए भने यसले देशको भविष्य के होला भन्ने पनि हो। रासस