काठमाडौं : संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित गरेको छ।
असोज २० गतेको संसद बैठकमा गणपूरक संख्या नपुगेर पारित हुन नसकेकाे विधेयक आज सर्वसम्मतिमा पारित भएको हो।
आजको बैठकबाट प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक पनि सर्वसम्मतिले पारित भएको छ।
बैठकले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक पनि सर्वसम्मतिबाटै पारित गरेको छ।
महिला आयोग विधेयक पारित
आजको संसद् बैठकले महिला आयोग विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित विधेयक सदनमा प्रस्तुत गरेकी थिइन्।
आजकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४ पेश गरेका छन्। संसद्को अर्को बैठक आगामी २४ गते दिउँसो १ बजेका लागि डाकिएको छ।