काठमाडौं : संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ। सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालिमको आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिए।
उनले भने,‘सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ।’
विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने गृहमन्त्रीले विश्वास व्यक्त गरे।रासस