
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनु पर्ने अवस्था आएको बताएका छन्।
नेकपा मालेबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको बताए।
उनले भने,‘ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो। समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ।’
विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै उनले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पारे।
हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आकर्षण बढेको उनको दाबी थियो।रासस