
काठमाडौँ: राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न धरौटी रकम नलाग्ने भएको छ। सरकारले राष्ट्रपतिको मनोनयनका लागि एक लाख र उपराष्ट्रपतिको लागि ७५ हजार रुपैयाँ धरौटी रकम प्रस्ताव गरेकोमा संसद्ले उक्त व्यवस्था हटाएर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्वन्धी विधेयक पारित गरेको हो।
धरौटी रकम बढी भएको भन्दै सांसद्हरुले संशोधनसमेत दर्ता गरेका थिए। संसद्को पूर्ण बैठकमा भएको दफाबार छलफलमा पदीय गरिमा अनुकूल नहुने भन्दै धरौटी रकम हटाउने प्रस्ताव सरकारका तर्फबाट भएको थियो। सरकारको उक्त प्रस्तावलाई संसदले स्वीकृत गरेको हो।
सदर मतको दश प्रतिशत नल्याए उक्त धरौटी रकम जफत गर्ने पनि सरकारको प्रस्ताव थियो।
यस्तै, राष्ट्रपति तथा उपराष्ट्रपतिमा मनोनयनका लागि प्रस्तावक २५ र समर्थक २५ सांसद् हुनुपर्ने व्यवस्था पनि संसदले परिमार्जन गरेको छ। अब प्रस्तावक समर्थक ५/५ जना भए पुग्नेछ।
राष्ट्रपति चयनका लागि भएको मतदानमा मत बराबर भएमा गोला प्रथाबाट छिनोफानो हुनेछ। स्थानीय तहको निर्वाचनमा गोलाप्रथाबाट धेरै स्थानमा परिणाम छिनोफानो हुँदा केही सांसद्ले उक्त व्यवस्था संशोधनसमेत माग गरेका थिए। तर, त्यसपछि पारित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा समेत सोही व्यवस्थाले निरन्तरता पाएको हो।
योग्यता
राष्ट्रपतिको उम्मेदवार बन्न वंशजको आधारमा नेपाली नागरिक भएको तथा कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति योग्य हुनेछ। कुनै गाउँ वा नगरको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, र संघीय कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछ।