काठमाडौं : विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुको फिचरिङ रहेको गीति भिडियो सार्वजनिक छ। 'परिवर्तन' बोलको गीतको म्यूजिक भिडियोमा डाक्टर, समाज सेवी, खेलाडी, कलाकार, लेखक लगायत देखिएका छन्।
संदेश मुलक गीतको भिडियोमा समाजको लागि आफ्नो स्तरबाट योगदान पुर्याएका रिल र रियल लाइफका हिरोहरुलाई प्रस्तुत गर्न खोजेको भिडियो निर्देशक आशिष पौडेलले बताए। भने,'सफल व्यक्तिहरुले दिएको संदेशले सकारात्मक परिवर्तनमा केही सहयोग पुर्याउँला भन्ने विश्वास राखेर नयाँ प्रयास गरेको हुँ।' भिडियोमा डाक्टर भोला रिजाल, अनुराधा कोइराला, नायिका साम्राज्ञी, नाजिर हुसेन, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दिप क्षेत्री, सिपोरा गुरुङ, ऋषि धमला, दीक्षा चापागाईं, अनिल केशरी शाह, महाविर पुन, खगेन्द्र संग्रौलालाई देखाएका छन्।
राजिव ज्ञवाली र आयुश्मान ज्ञवालीको स्वर रहेको गीतमा शब्द आयुश्मान ज्ञवाली स्वयंमले दिएका हुन्। त्यस्तै संगीत भने गायकद्वयले संयुक्त रुपमा भरेका छन्। गीतले धार्मिक सहिष्णुता, सहयोगको भावना, अग्रजलाई सम्मान, सहासी बन्ने प्रेरणा दिने ज्ञवालीको दाबी छ।