PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गठबन्धनको असर : राप्रपा सरकारमा जाने, माओवादी मन्त्री हटाउने



आकाश क्षेत्री

गठबन्धनको असर : राप्रपा सरकारमा जाने, माओवादी मन्त्री हटाउने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने भएको छ। आज बिहान बसेको पदाधिकारी र कार्यसम्पादनको संयुक्त बैठकपछि राप्रपाले सरकारमा जाने निर्णय लिएको हो। यद्यपी राप्रपाले सरकारमा जाने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

‘कांग्रेससँग सहमतिको पहल भर्इरहेको ‍छ, हामीले माग गरे अनुसारको सिट पाएपछि हामी सरकारमा जान तयार छौं,’ राप्रपा केन्द्रीय सदस्य तथा सहप्रवक्ता मोहन श्रेष्ठले भने। 

राप्रपा नेतृ कुन्ती शाहीले सरकारमा जाने विषय केही अघि बढेको बताइन्। ‘अहिले सरकार र निर्वाचनमा गठबन्धनबाट राप्रपाले पाउने सिटका विषयमा कुराकानी भइरहेको छ,’ शाहीले भनिन्, ‘आजै साँझसम्म कुरा मिल्यो भने यसबारे जानकारी सबैले पाउने अवस्था हुने छ।’ 

बिहान संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठक डाकेका अध्यक्ष कमल थापा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी गठबन्धनका र सरकारका विषयमा छलफल गर्न बालुवाटार पुगेका थिए।

स्रोतका अनुसार राप्रपा अध्यक्ष थापाले गृह तथा उपप्रधानमन्त्री सहितका चार मन्त्रालय दाबी गरिरहेका छन्। सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री साकारात्मक भए पनि निर्वाचनका लागि सिट दिने विषयमा कुरा मिलि नसकेको बालुवाटार स्रोतले जनाएको छ।

थापाले प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३० सिट मागिरहेका छन् भने कांग्रेसले प्रतिनिधि सभामा बढीमा ७ र प्रदेश सभामा १५ सिटसम्म दिन सकिने बताएको छ।

राप्रपा सरकारमा सहभागी हुने टुंगो लागेसँगै नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने छन्।

सत्ता साझेदार रहेकै बखत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकीकरणका लागि गएको माओवादी केन्द्रका सरकारमा आठ मन्त्री र पाँच राज्यमन्त्रीसहित १३ जना सहभागी छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell