काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताए।
उनले भने,‘पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो। पुरानै अवस्थामा कोही पनि रहँदैनन्। नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो।’
पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघटन भएको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथारुपमा नलिन आग्रह गरे।
उनले भने,‘हामी विघटन हुँदैहुँदै माओवादी केन्द्रसम्म आयौँ, त्यसले नेपालमा गणतन्त्र र संघीयता सम्भव भयो। अब यसलाई अब बन्ने पार्टीले देशमा समाजवादी क्रान्ति सम्भव छ। हामी सो दिशामा केन्द्रित छौँ।’
उनले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिवर्तका लागि ठूलो तागत सिर्जना हुने दाबी गरे।
राजनीतिक पार्टी पोखरी जस्तो जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उनले जोखिम मोल्न र चलायमान बन्न कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष प्रचण्डले भने,‘अबको नयाँ क्रान्तिको शुरुवात तपाईं हामीले गर्ने हो, जमेको पोखरी जस्तो बनेर हुँदैन।’
माओवादी एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता माओवादीका मुद्दा सुदृढ गर्न लागिपरेको स्पष्ट पारे।
कार्यक्रममा माओवादी नेता वर्षमान पुनले पार्टी एकता हुने विषयलाई सकारात्मकरुपमा अगाडि बढाएर देश र जनताको मन जित्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।रासस