
काठमाडौं : ए डिभिजन क्लब थ्री स्टारलाई डेढ करोड रुपैयाँ क्षतीपूर्ती दिने यसअघिको निर्णयलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभाले पास गरेको छ।
सोमबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न एन्फाको विशेष साधारण सभाबाट थ्री स्टारलाई १ करोड ५० लाख क्षतीपूर्ती दिने निर्णय दुई तिहाई बहुमतले पारित गरेको एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले बताए।
क्षतीपूर्ती अन्तरिक श्राेतबाट दिने र बढीमा तीन किस्तामा उपलब्ध गराउने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसअघि गत भदौ २९ गते एन्फा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो र विशेष साधारण सभाबाट पारित गर्ने बताएको थियो।
एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरी थ्री स्टार दोस्रो चरणका लागि छनोट भए पनि एन्फाकै लापरवाहीका कारण छनोट खेल्न नपाएपछि थ्रीस्टारले एन्फासँग ६ करोड क्षतीपूर्ती माग गरेको थियो। तर, विभिन्न चरणमा भएको छलफल राखेपका सदस्यसचिव केशवकुमार विष्टको रोहवरमा एन्फा र थ्रीस्टारबीच पछिल्लो पटक भएको सहमतीबाट डेढ करोड मात्र पाउने भएको हो।
यसैगरी थ्री स्टारले अब विभिन्न खालको प्रतियोगितामा भाग लिने प्रतिबद्धता गरेको एन्फा अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यस्तै एन्फाको विशेष साधारण सभाले आगामी दुई वर्षपछि हुने निर्वाचनलाई मध्यनजर गर्दै विधानसमेत संशोधन गरेको छ।