
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार भएको विशेष साधारण सभाको दुई तिहाईले विधान संशोधन गरेको छ। सभाले विभिन्न २० धारको कूल ३८ बुँदामा संशोधन गरेको एन्फा सिईओ इन्द्रमान तुलाधरले जानकारी दिए।
संशोधित विधान अनुसार अब एन्फामा चुनाव लड्न फुटबलसंग सम्बन्धित कुनै पनि क्षेत्रमा पछिल्लो ५ वर्षमध्ये २ वर्ष सक्रिए रुपमा लागेको व्यक्ति भए हुनेछ।
'विगत ५ वर्षमा २ वर्ष कुनै पनि रुपमा फुटबलमा सक्रिय रहेको व्यक्ति एन्फामा चुनावको उम्मेदवार हुन पाउनेछ।' एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले भने। 'त्यसका लागि एक जना प्रस्तावक र समर्थक चाहिनेछ। तर उक्त दुई जना भने एन्फाको कार्यसमितबाटै हुनुपर्नेछ।'
आगामी पुसमा हुने एन्फाको चुनावका लागि अन्तर्राष्ट्रिय मान्यताअनुसार अगाडि बढ्न विधानमा उक्त संशोधन गरेको अध्यक्ष श्रेष्ठले बताए।
अहिले एन्फाको मेम्बर ७७ मात्र रहेको र उक्त मेम्बरबाट मात्र उम्मेदवार बनाउँदा रेर्स्ट्रिक्सन हुनेहुँदा फुटबलमा लाग्ने सबैको लागि ओपन गरिएको श्रेष्ठले प्रतिक्रिया दिए।
पुसमा हुने निर्वाचनलाई नै मुख्य रुपमा मध्यनजर गर्दै विधान संशोधन गरिएको श्रेष्ठले जनाए।
यस्तै अब देश संघिय संरचनामा गएपछि एन्फाको पनि प्रादेशिक संघहरु गठन गरिने र त्यसबाट फुटबल गतिविधि अगाडि बढाइने उनले बताए।
यस्तै संशोधित विधानले महिलाको छुट्टै कमिटी बनाउने निर्णयसमेत गरेको छ।
त्यस्तै यसअघि ५ वटा बी डिभिजन क्लबले मात्र मताधिकार पाएकोमा त्यो संख्या बढाएर ९ तथा सी डिभिजनको ३ बाट बढाएर ५ पुर्याएको छ। ए डिभिजनबाट अहिले रहेका १४ क्लबले एन्फाको कार्यसमिति निर्वाचनमा भोट हाल्न पाउनेछन्।
यस्तै विशेष साधारण सभाले ए डिभिजन क्लब थ्री स्टारलाई डेढ करोड क्षतीपूर्ती दिने यसअघिको निर्णय पनि पारित गरेको छ र तीन किस्तामा रकम उपलब्ध गराउने बताएको छ।