PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

गौचन हत्या : गोली र हतियारसहित बौद्धबाट तीन जना पक्राउ



सविन ढकाल

गौचन हत्या : गोली र हतियारसहित बौद्धबाट तीन जना पक्राउ

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए।

एसएसपी धानुकले भने 'घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको लागि पक्राउ गरिएको हो,' उनीहरुको साथबाट प्रहरीले केही राउन्ड गोली र हतियारसमेत बरामद गरेको छ।'

छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङलाई प्रहरीले अपराह्न सवा ३ बजे पक्राउ गरेको हो। उनीहरु तीनै जना काभ्रेको रोशी नगरपालिकाका बासिन्दा हुन्। 

यसअघि गृहमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा प्रारम्भिक जानकारी प्राप्त भइसकेको दाबी गरेका थिए। 

एभिन्युज टेलिभिजनसँगको कुराकानीमा गृहमन्त्री शर्माले भने, ’हामीसँग प्रारम्भिक जानकारी आएको छ। अब हत्यारालाई पक्राउ गरेपछि मात्र डिटेल जानकारी सार्वजनिक हुन्छ।'

उनले अगाडि भने, ‘अहिलेको प्राथमिकता हत्यारालाई नियन्त्रणमा लिनु भएकाले जानकारी दिनु उपयुक्त हुँदैन।‘

शर्माले घटनाको छानबिन गरी जतिसक्दो चाँडो हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताए। दिनदहाडै बाटोमा छेकेर गोली हानिएकोले नै घट्ना योजनाबद्ध हो भन्न सकिने उनले बताए।
 
गृहमन्त्री शर्माले भने, ‘बाटोमा रोकेर गोली हानी हत्या गरिएकाले घटना योजनावद्ध हो भन्न सकिन्छ।’

उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रको सुरक्षा चेकिङ कडा बनाएको छ।
 
उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ मिलाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। 

एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाका लगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘ 

दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई प्रज्ञान चोकमा अज्ञात समूहले गोली प्रहार गरेका थिए। 

एआइजी चन्दले प्रहरी अपराधीको खोजीमा लागि सकेकाले केही समयमा अपराधी नजिक पुग्ने दाबाी  गरे। 

यसरी हानिएको थियो गोली

बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन कतै जाँदै थिए। गाडी उनका ड्राइभरले चलाएका थिए। गौचन ड्राइभर नजिकै अगाडि सिटमा थिए।

प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा गाडी हुँदा एक्कासी दुई जना आए। ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाए उनीहरुले। 

गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको देखिन्छ। 

अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो। घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो।  निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु बुढाथोकीले अस्पतालले मृत घोषणा गरिसकेको पुष्टि गरे। 

प्रत्यक्षदर्शी शर्माका अनुसार गोली हान्नेहरु मोटरसाइकलमा आएका थिए। मोटरसाइकल रोकेर दुई तीन सय मिटर पैदल हिँडी उनीहरुले आक्रमण गरेका थिए। आक्रमण गर्ने मध्ये एक जनाले गुलाबी रङ्गको टिसर्ट लगाएका थिए।  

गोली कसले हानेको भन्ने बारे केही पत्ता लागेको छैन। अहिले प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङ कडा गरेको छ। 

सम्बन्धित समाचार
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली
गोली हान्ने बेपत्ता, सर्वसाधारणलाई सास्ती : राजधानीमा प्रहरी चेकिङ कडा
 पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell