काठमाडौः निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनलाई सोमबार दिउँसो गोली हानियो। गोली लागेको केही समयमै अस्पताल पुर्याइएका उनको मृत्यु भयो।
दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका अज्ञात व्यक्तिले गोली हानेका थिए। मोटरसाइकल केही पर राखेर हिँड्दै आएका उनीहरुले पहिले गाडीमा इँटा हाने।
इँटा प्रहारपछि उनीहरुमध्ये एकले आफूसँगै ल्याएको पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरे। बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीको अगाडिपट्टीको सिटमा बसेका गौचनको छातिमा गोली लाग्यो।
गौचनलाई गरिएको ‘सुटआउट’को प्रकृति हर्दा प्रोफेसनल सुटरको प्रयोग भएको दावी प्रहरीको छ। एक प्रहरी अधिकृतले पहिलोपोस्टसँग भने, 'गाडी र सुटरको दूरी धेरै छैन। फेरि कहाँ हान्दा मृत्यु हुन्छ भन्ने जानकारी भएर नै हानेको देखिन्छ। त्यसैले गोली प्रहार गर्ने सार्पसुटर नै हुन्।'
यसरी गोली प्रहार गरेपछि पनि ती युवकहरु हड्बडिएनन्, निडर भएर पेस्तोल खेलाउँदै हिँडे।
प्रत्यक्षदर्शी लेखनाथ शर्माले भने 'म केही अगाडि मात्र थिएँ। गोली हानिसकेपछि तिनीहरुले बिस्तारै हातमा पेस्तोल खेलाउँदै बाइक भएतिर हिँडेका थिए।'
घटनामा प्रोफेसनल सुटरको प्रयोग गरिएको देखिएपछि सम्भावित सुटरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका एसपी रामदत्त जोशीले बताए।
एसपी जोशीले भने, 'उपत्यकाभित्र प्रहरीको जानकारीमा रहेका सुटरको विवरण लिइरहेका छौं।'
नेपाल प्रहरीको विशेष व्यूरोले शनिबारमात्र जोरपाटीस्थित नारायणटारबाट सार्पसुटर भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई पक्राउ गरेको थियो। उनीहरु राजधानीका व्यापारीको हत्या गर्न काठमाडौं आएको प्रहरी स्रोतले जानकारी दिएको छ।
सोमबारको गौचन हत्यासँग भने यो घटनाको सम्बन्ध नरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।
उनले भने, 'गौचनको हत्यामा यो घटना सम्बन्धित नहोला भन्ने अनुमान छ। तर यससँग जोडेर पनि अनुसन्धान गर्नेछौं। प्रत्यक्षदर्शीको बयान अनुसार गोली प्रहार गर्ने नेपाली नै भएकाले भारतबाट सुटर मगाएको नदेखिएको उनले बताए।