काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा सोमबार दिउँसो निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको दिनदहाडै गोली हानी हत्या गरियो। राजधानीमा दिनदहाडै गोली हानी हाइप्रोफाइल व्यक्तिको हत्या भएको यो पहिलो घटना भने हैन।
तर पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार राजधानीमा धेरै पछि यस्तो घटना भएको छ। राजधानीमा भएका अधिकांश सुटआउटका घटना फेक करेन्सी र विदेशी अन्डरवर्ल्ड डनसित कनेक्ट हुने तर गौचन हत्या प्रकरण भने फरक भएको उनले बताए। 'उनी निर्माण व्यवसायी भएकोले लेनदेन लगायतका अन्य घटना कारक हुनसक्छन्', उनी भन्छन्, 'नेपालभित्रकै परिवेश भएका कारण नेपाल प्रहरीले यसको अनुसन्धान गरी चाँडै हत्यारा पत्ता लगाउन सक्छ।'
राजधानीमा भएका हत्याका घटना यस्ता छन्। यी पाँच घटनामध्ये एउटा घटनाका मुख्य अभियुक्त मात्रै अहिले जेलमा छन्।
१) मिर्जा दिलसाद बेग : सिफल

१५ असार, २०५५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यस बारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो।
२) कमलसिंह नेपाली : बानेश्वर
२४ भदौ ०६३ मा बानेश्वरमा कमलसिंह नेपालीको हत्या भएको थियो। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली पहिले छोटा राजनको समूहमा काम गर्थे, पछि दाउदका लागि काम गर्न थालेका थिए। छोटा राजन समूहकै निर्देशनमा उनलाई नयाँ बानेश्वरमा गोली हानी मारिएको थियो। उनका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्।
३) जमिम शाह : लाजिम्पाट

२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा संचार उद्यमि जमिम शाहको भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो। ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानेको थियो। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो।
४) फैजान अहमद : घण्टाघर

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरेपनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।
५) रणबहादुर बम : शंखमुल

उपत्यकाबासीलाई नै त्रसित बनाउने घटना भयो २०६९ साल जेठ १८ मा। मन्दिरमा पूजा गरेर फर्कने क्रममा शंखमुल नजिकैको युएन पार्कमा गोली हानी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरियो। घटना भएको २ वर्ष ७ महिनापछि प्रहरीले घटना संलग्न चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दीपक कर्णलाई पक्राउ गर्न सफल भयो। पाँच घटनामध्ये यही घटनामा मात्रै मुख्य अभियुक्तसहित दोषीहरु पक्राउ परेका छन्।

बम हत्याकाण्डमा संलग्नमध्ये एक सुटर रामेछाप जिल्ला खनियापानी ७ का २८ वर्षीय सञ्जय स्माइली मगरलाई २०७२ भदौमा साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।