तेह्रथुम : आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजार बढीले मतदान गर्ने भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन्।
जिल्लामा गत असारको स्थानीय तहको निर्वाचनमा भन्दा ६ हजार २० जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो।
त्यसक्रममा सात हजार ३९१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। तर त्यसमध्ये २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाले मात्रै मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्।
असार १४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका ६० हजार ७०४ जनाको नाम मतदाताको सूचीमा उल्लेख थियो। निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि सभातर्फ तेह्रथुममा यसवर्ष पनि सिंगो जिल्ला एउटा निर्वाचन क्षेत्रका रुपमा तोकिएको छ।
प्रदेश सभाको निर्वाचनमा भने जिल्लामा दुईवटा निर्वाचन क्षेत्र तोकिएका छन्। प्रदेश सभाको निर्वाचनमा क्षेत्र नं १ मा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका परेका छन्।
क्षेत्र नं २ मा आठराई गाउँपालिका, फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिका छन्। जिल्लाका ६६ हजार ७४१ जना मतदाताले प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले जानकारी दिए।
यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं १ मा ३६ हजार १३४ जना र क्षेत्र नं २ मा ३० हजार ६०७ जना मतदाता रहेका छन्। त्यसमध्ये क्षेत्र नं १ मा १७ हजार ८२५ पुरुष र १८ हजार ३०९ जना महिला मतदाता छन्।
क्षेत्र नं २ मा १५ हजार ७१२ जना पुरुष र १४ हजार ८९५ महिला मतदाता रहेका छन्। जिल्लामा जम्मा ३३ हजार ५३७ जना पुरुष र ३३ हजार २०४ जना महिला मतदाता छन्।
स्थानीय तहको निर्वाचनमा जिल्लामा ५७ स्थानमा ८२ वटा मतदान केन्द्र तोकिएका थिए।स्थानीय निर्वाचनमा जिल्लाका छ स्थानीय तहमध्ये एमालेले म्याङ्लुङ नगरपालिका, छथर, फेदाप र आठराई गाउँपालिका तथा काँग्रेसले लालीगुराँस नगरपालिकामा बहुमतसहित प्रमुख र उपप्रमुख जितेको थियो।
बाँकी मेन्छ्यायेम गाउँपालिकामा भने प्रमुख पदमा एमालेले जित निकाले पनि उपप्रमुखसहित बहुमत सिट कांग्रेसले जितेको थियो। रासस