PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

किन ढिला भइरहेको छ लोकतान्त्रिक गठबन्धन? कार्यदलले अवधारणा नै बनाउन सकेन



रमेश वाग्ले

किन ढिला भइरहेको छ लोकतान्त्रिक गठबन्धन? कार्यदलले अवधारणा नै बनाउन सकेन

काठमाडौं : लोकतान्त्रिक गठबन्धनले आकार लिन ढिलाइ भएको छ। गत असोज १९ गते गठित लोकतान्त्रिक कार्यदलले न्यूनतम साझा कार्यक्रम र अवधारणा बनाएर गठबन्धन बनाउन बाटो खोल्ने भनिए पनि त्यसको जिम्मेवारी पाएको कार्यदलले अझै अवधारणा तयार पारेको छैन।

न्यूनतम साझा कार्यक्रम र गठबन्धनको औचित्य पुष्टि हुने गरी साझा अवधारणा बनाउने भनिएको थियो। त्यो अवधारणा पनि गठबन्धनको 'इनिसियटर'का हैसियतमा कांग्रेसले नै बनाउने भनिएको थियो,' गठबन्धन कार्यदलमा राजपाका प्रतिनिधि सर्वेन्द्रनाथ शुक्लले भने, 'तर, त्यसको जिम्मा लिनुभएका कार्यदलका कांग्रेस साथीहरुले अहिलेसम्म अवधारणा र साझा कार्यक्रम ल्याउनुभएको छैन।' 

उनले आफ्नो तर्फबाट आवश्यक कुरा गठबन्धनमा लगिसकेको भन्दै त्यसलाई मूर्त रुप दिन कांग्रेस पक्षबाटै क्रियाशिलता नदेखिएको बताए। 

कांग्रेसका तर्फबाट अवधारणा निर्माणको जिम्मा कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले पाएका छन्। गठबन्धनमा आवद्ध हुन कार्यदलमा रहेका बाँकी ५ दलले अवधारणा कांग्रेसकै तर्फबाट आउनुपर्ने भनेपछि कार्यदलका संयोजक विमलेन्द्र निधिले गत २० गते नै डा. रिजाललाई अवधारणा तयार गर्ने जिम्मा दिएका थिए। 

गठबन्धनको मान्यता के हुने, सहकार्यका आधारहरु केलाई मान्ने, चुनावी तालमेल हुँदा सिट संख्या विभाजनको आधार के हुने, गठबन्धनले अपनाउने आचार संहिता कस्तो बनाउने र त्यसले निर्वाचनको परिणाम पछि कसरी अघि बढाउने भन्नेसम्मका विषयमा ल्याउनुपर्ने अवधारणा तयार नहुँदा कार्यदलको बैठक समेत बस्न सकेको छैन। त्यही कारण राष्ट्रिय जनता पार्टीले सिट संख्या दावीसहित दिएको आफ्नो प्रस्तावमा छलफल समेत गर्न पाएको छैन। 

'हामी राजपा र संघीय समाजवादी फोरमले संयुक्त प्रस्ताव लिखित रुपमा कांग्रेसलाई बुझाइसकेका छौं,' शुक्लले भने, 'अब उहाँहरुबाट त्यसका विषयमा अवधारणा नआउँदासम्म त कसरी छलफल अघि बढ्न सक्ला र?' उनले हरेक प्रदेशमा चुनावी तालमेल गर्दा सिट संख्या विभाजन गर्दा त्यसको आधार के हुने र आफ्नो पक्षबाट दावी कति रहने भन्ने विषयसमेत प्रस्तावमा पेश गरेको बताए। 

'हाम्रो प्रस्ताव पछि दुईपक्षीय र बहुपक्षीय रुपमा शीर्ष तहमै छलफल गर्ने भनिएको थियो तर त्यसो हुन सकिरहेको छैन,' शुक्लले भने, 'त्यसकारण, हामीले समानुपातिकको बन्द सूची बुझाउने तीन दिनअघि तालमेलको विषयमा एउटा निचोडमा पुगिसक्ने हाम्रो तयारी पनि ढिला हुने अवस्था देखिएको छ।' ढिला गर्दा कांग्रेसलाई नै घाटा हुने उनले बताए।

कार्यदलको काम केही ढिला हुने संकेत देखिएको कांग्रेस नेता पूर्णबहादुर खड्काले बताए। 'केही ढिला हुन सक्ने अवस्था देखिएको छ,' खड्काले भने। उनले शीर्ष तहको छलफल पनि औपचारिक ढंगले सुरु नभएको र साझा कार्यक्रम र अवधारणामा पनि छलफल सुरु नभएको बताए। 

राजपा-संघीय समाजवादीले पेश गरेको संयुक्त प्रस्तावमा प्रदेश नम्बर-२ मा दुई तिहाई अर्थात् ३२ मध्ये २४ सिट दावी गरेका छन्। 'सिट संख्या लगायतका विषय परिपक्व भएपछि मात्र सार्वजनिक गर्ने भन्ने भएको छ,' शुक्लले प्रस्तावबारे भने, 'तर हामी आफूहरुमात्र लड्दा पनि २० सिट जित्ने आधार प्रस्तुत भएकाले त्यसभन्दा केही माथि हाम्रो दावी हो।' उनले गठबन्धनमा केही फाइदा हुन्छ भनेर त्यस्तो प्रस्ताव गरेको जानकारी दिए। 

कांग्रेस नेता खड्काले राजपाले प्रस्तुत गरेको प्रस्ताव छलफलका लागि मात्र भएको भन्दै त्यसमा छलफल नै नभएकाले अहिले नै सिट संख्याको विषय टुंगो नलाग्ने बताए। 

'उहाँहरुले छलफलका लागि आफ्नो धारणा ल्याउनुभएको हो, त्यही नभए मान्दिनँ भन्ने उहाँहरुको कुरा हैन,' कांग्रेस नेता खड्काले भने, 'भोलि शीर्ष तहमा र कार्यदलमा छलफल पछि सिट संख्या टुंगो लाग्ने हो।'

कांग्रेस- राजपा-संघीय समाजवादीलाई गाह्रो

राजपा नेता शुक्लले कांग्रेस र राजपा-संघीय समाजवादी दुबैको आधार क्षेत्र प्रदेश नम्बर-२ नै भएको भन्दै व्यवस्थापन सहज नभएको बताए।

'कांग्रेसको पनि मुख्य आधार क्षेत्र प्रदेश नम्बर-२ नै हो हाम्रो पनि आधार क्षेत्र अन्यत्र हुने कुरा भएन,' शुक्लले भने, 'त्यसैले सिट विभाजनको विषय त्यति सहज छैन।' त्यस्तो अवस्था आयो भने के हुन्छ त? शुक्ल भन्छन् 'आधार क्षेत्रमा सहज तालमेल नभए गठबन्धन तीनवटा नै हुन्छन्।‘ 

'हामीले त तालमेल गरिसकेका छौं, कांग्रेसको भूमिका कस्तो रहन्छ, त्यसमा नै भर पर्छ' शुक्लले भने, ' कांग्रेसले सहज रुपमा तालमेललाई स्वीकार नगरे तीनवटा गठबन्धन निर्वाचनमा जान्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell