PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गौचन हत्याविरुद्ध सांसदको चर्को विरोधः सत्तापक्षकै सांसदले मागे गृहमन्त्रीको राजिनामा



रमेश वाग्ले

गौचन हत्याविरुद्ध सांसदको चर्को विरोधः सत्तापक्षकै सांसदले मागे गृहमन्त्रीको राजिनामा

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याविरुद्ध सांसदहरुले चर्को आवाज उठाएका छन्।

प्रतिपक्षीदेखि सत्तापक्षसम्मका सांसदले गौचन हत्याको भत्र्सना गर्दै छानविन प्रभावकारी बनाउन र संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। 

आजको बैठकको सुरुवातमै कांग्रेस सांसद दीपक गिरीले समय मागेर गौचन हत्याको विरोध गर्दै त्यसले समग्र शान्ति सुरक्षाका विषयमा प्रश्न उठेको बताए। 

‘निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको दिनदहाडै हत्या भएको छ,’ गिरीले भने, ‘यसले शान्ति सुरक्षा छैन भन्ने संकेत मात्र गरेको छैन। निर्वाचन समयमा हुने कुरामासमेत प्रश्न उठाएको छ।’

उनले गौचनका हत्यारालाई कानुनी दायरामा ल्याउँदै सम्पूर्ण व्यवसायिक क्षेत्र र आमजनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गरे।

नेकपा एमालेका सांसद जनार्दन ढकालले गौचनको हत्याको शिघ्र छानबिन गर्न माग गर्दै हत्यारालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। 

माओवादी केन्द्रका सांसद रामनारायण बिंडारीले दिनदहाडै व्यवसायीको हत्या हुनु शान्ति सुरक्षाको गम्भीर कमजोरी भएको बताए। 

‘दिनदहाडै राजधानीमा गोली हानेर हत्या भयो यो शान्तित सुरक्षाका लागि गम्भिर प्रश्न हो,’ विडारीले भने, ‘यस्तो गम्भीर घटनाका विषयमा गृहमन्त्रीले चाँडो संसदलाई जानकारी गराउनुपर्छ र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ।’

नेपाली कांग्रेसका रोमी गौचनले हत्या चुनावी चन्दा आतंकको प्रभावका रुपमा भएको हुन सक्ने भन्दै त्यसलाई कारवाहीको दायरामा नल्याए निर्वाचनको वातावरण र लगानीको वातावरण विथोलिने बताए। 

‘भ्रष्टाचारीको चरम प्रभावमा सुरक्षा निकाय पनि पर्ने भएकाले राजनीतिक प्रभाव र पैसाको दवावमा दोषी पहिचानमा ढिला भइरहेको त हैन?’ गौचनले भने, ‘एकातिर शान्ति सुरक्षाको प्रत्याभूति छ भनेर विदेशीलाई लगानीको आह्वान गर्ने अर्कातिर आफ्ना देशभित्र व्यवसायीको सुरक्षा दिन नसक्ने ? यसरी नै विदेशी लगानीकर्ता आकर्षित होलान् ?’

उनले गौचन परिवारले शव बुझ्नसमेत नमानेको भन्दै छिटो अपराधीलाई कारवाही शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए। 
उनले त्यसो नभए निर्वाचनको वातावरणसमेत नबन्ने बताए।

राप्रपा सांसद परशुराम तामाङले नेपालको विकासलाई अघि बढाउने निर्माण व्यवसायीका अध्यक्षको हत्याले सम्पूर्ण व्यवसायिक क्षेत्र हतोत्साही बनेको बताए। 

उनले व्यवसायीसँगै सर्वसाधारणसमेत आतंकित बनेको भन्दै त्यसले निर्वाचनको वातावरणसमेत खल्बलिने बताए। 

नेपाली कांग्रेसका सांसद दीपक कुइँकेलले निजी क्षेत्र त्राहिमाममा भइरहेको भन्दै यसले चुनावी वातावरणभन्दा पनि आतंकको वातावरण निर्माण गरेको बताए। 

बैठकमा लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र संघीय लोकतान्त्रिक मञ्च थरुहटकी रुक्मिणी चौधरीलगायतले गौचनका हत्याबारे सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरेका थिए। 

कांग्रेस सांसद रामहरि खतिवडाले भने गृहमन्त्रीको राजिनामा मागेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell