PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सरकारलाई प्रमुख आयुक्तको आग्रहः निर्वाचनको मुखमा अप्रिय निर्णय नलिइयोस्



पहिलोपोस्ट

सरकारलाई प्रमुख आयुक्तको आग्रहः निर्वाचनको मुखमा अप्रिय निर्णय नलिइयोस्

काभ्रे :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालिमको आज उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गरे। 

यादवले भने,‘निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ।’

उनले कानुन, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान आउन नहुने बताए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको उल्लेख गर्दै यादवले जसरी भएपनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए। 

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिए। 
प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, नौ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell