PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री



पहिलोपोस्ट

अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

राष्ट्रिय अभिलेखालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताए। 

कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाईसमेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे। 

प्रधानमन्त्रीले भने,‘इतिहास, धर्म, दर्शन, हस्तलिखित ग्रन्थ कम्युटर माइक्रोफिल्मको माध्यमबाट अभिलेख व्यवस्थापन जस्तो महत्वपूर्ण कुराको संरक्षण जरुरी छ।’
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको अभिलेख स्वदेशी तथा विदेशीको अध्ययनका लागि महत्वपूर्ण भएको बताए। 

राष्ट्रिय अभिलेखालय सरकारका विभिन्न निकायले कार्य सञ्चालनका क्रममा सिर्जना गर्ने राष्ट्रिय महत्वका दस्तावेजको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०२४ साल असोज १७ गते स्थापना भएको हो । 

अभिलेखालयमा विश्वमा नै दुर्लभ प्राचीन ग्रन्थ सुरक्षित छन्। इसं ८१० को स्कन्दपुराण, युनेस्को ‘मेमोरी अफ द वल्र्ड’ रजिष्टरमा सूचीकृत शैवतन्त्रको ग्रन्थ ‘निश्वासतत्तवसंहिता’, शारदा लिपिमा लेखिएको बौद्धदर्शनको ग्रन्थ ‘कारण्डब्यूह’, गिल्गीट लिपिमा लेखिएको ‘सद्धर्मपुण्डरीकसूत्र’, ‘शिवधर्म’, ‘विष्णुधर्म’ आदि अभिलेखालयमा छन्। 

त्यस्तै ताडपत्र, भोजपत्र, नीलपत्र, ठ्यासफू, नेपाली कागज, भारती कागज जस्ता विविध हस्तलिखित सामग्री सुरक्षित छन्।

संस्कृत, पाली, मैथिली, नेवारी, तिब्बती आदि भाषामा लेखिएका ग्रन्थ तथा तन्त्र, दर्शन, इतिहास, वेद, कर्मकाण्ड आदि गरी अभिलेखालयमा ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, करिब आठ हजार तिब्बती ग्रन्थ, एक लाख ८० हजार माइक्रोफिल्म प्रति र करिब १२ हजार प्रकाशित पुस्तक छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell