
जेनेभा : संयुक्त राष्ट्रसंघले बंगलादेशमा म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थीको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यान्मालीले शरण लिएर बसेका छन्। उनीहरुको अवस्था प्रतिदिन कष्टकर बन्दैछ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले उनीहरु तत्कालै घर फर्किने अवस्था नरहेको बताए।
राष्ट्रसंघले भनेको छ– रोहिङ्गा अहिले नै घर फर्किनसक्ने अवस्था देखिँदैन, त्यसैले उनीहरुको समस्या समाधानमा दीर्घकालीन योजना आवश्यक छ।
ग्रान्डीका अनुसार शरणार्थीको अवस्था अहिले अत्यन्तै नाजुक छ। त्यसैले उनीहरुको व्यवस्थापनमा सबैको चासो आवश्यक छ।
ती बसिरहेका शिवीरमा हैजा तथा यस्तै अरु पनि पानीजन्य रोगले सताउन सक्ने खतरा पनि रहेको उनको भनाइ थियो। खानेकुरा र पानीकै कारण ज्यान गुमाउनसक्ने लाजमर्दो अवस्था पनि आउनसक्ने उनले बताए।
म्यानमारमा उक्त समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोपमा उनीहरुले अगष्ट २५ देखि घर छोडेर हिँडेका थि । यसरी घर छोड्ने क्रम अहिले पनि जारी नै छ।
उनीहरु यी दुई देशको सीमामा पर्ने नाफ नदीको किनार र त्यसको वरपर गरी करिब ७० वटा शिविपरमा बसेका छन्। तर उनीहरुको बसाई जेलजस्तो रहेको अधिकारीहरुको भनाइ छ।रासस/एएफपी