आखिर अर्जेन्टिनाको लागि जे-जे हुनुपर्ने थियो ठीक त्यही भयो। कप्तान लियोनल मेसीले गोलको खडेरी तोड्दै ह्याट्रिक गरे। अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भयो। ठिक त्यसै बेला शीर्ष स्थानको ब्राजिलले चिलीलाई पनि हरायो। अनि अर्को खेलमा कोलोम्विया पेरुसँग बराबरीमा रोकियो।
यसको नतिजा ब्राजिल पहिलो, उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलोम्विया चौथोँ स्थानमा रहँदै सिधै विश्वकपमा छनोट भयो। पाँचौँ स्थानमा रहेको पेरु प्लेअफका लागि छनोट भयो। ब्राजिलसँग हारेपछि चिली भने छैटौँ स्थानमा झर्यो र विश्वकपमा छनोट हुन सकेन।
अन्तित खेल खेल्नुअघि अर्जेन्टिना निकै तनावमा थियो। पछिल्लो दुई खेलमा लगातार गोल गर्न सकेको थिएन। इक्वेडरविरुद्ध जित्नै पर्ने दबाब थियो। अझ १६ वर्षयता अर्जेन्टिनाले इक्वेडरलाई उसैको मैदानमा हराउन सकेको थिएन।
तर यो समय मेसी र अर्जेन्टिनाको थियो। त्यसैले एक गोलले पछि परेको अवस्थामा पनि मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३-१ को जित दिलाए र विश्वकपमा स्थान सुरक्षित गराए।
खेलको पहिलो मिनेटमै रोमारियो आइबराले गोल गर्दै घरेलु टोली इक्वेडरलाई अग्रता दिलाए। तर त्यो लामो समय टिकेन। मेसीले ११औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेसीले अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए। ६२औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।
यता गाब्रिएल जेससको दुई गोल मद्दतमा ब्राजिलले चिलीलाई पनि ३-० ले हरायो। ब्राजिलका लागि पाउलिन्होले अर्को गोल गरे।
अन्य खेलमा उरुग्वेले बोलिभियालाई ४-२ ले हरायो भने रु र कोलोम्वियाले १-१ को बराबरी खेले। पाराग्वे भेनेजुएलासँग १-० ले पराजित भयो।
