खोटाङ : खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन पक्की पुलको ढलान कार्य सकिएको छ।
निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान सकिएको हो।
ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर सीताराम कार्कीले जानकारी दिए।
‘क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ’ उनले भने‘एप्रोच रोड निर्माण सकिएलगत्तै आगामी मंसिर पहिलो सातादेखि पुल पनि सञ्चालनमा आउँछ।’
करिब १० करोड रुपैयाँको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल निर्माणले खोटाङ्का जनतामा ठूलो आशा जगाएको छ। जयरामघाटमा अहिले पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता छ।
जयरामघाटको पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला हुने सांसद पाँचकर्ण राई (पिके) ले बताए।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएका थिए।
२०६८ असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेका थिए।
करिब १५० मिटर लामो पक्की पुल नेपालकै नमूना भएको आयोजना प्रमुख इञ्जिनियर उद्वव रानामगरले दाबी गरे। ‘पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुपर्यो।’ उनले भने,‘सबै कुरामा चीनको सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो।’
२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ।
जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख रुपैयाँभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ।रासस