
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भए पनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भए पनि मंसिर २१ गते हुने निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका हुन्।
केन्द्र र प्रदेश सभाको निर्वाचन एकै पटक गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षी दललाई सरकारका गतिविधिलाई साथ दिनसमेत आग्रह गरे।
उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’
स्थानीय तह निर्वाचनका बेला पाएको जनमतको आधारमा लोकतान्त्रिक गठबन्धन बन्ने बताउँदै थापाले भने,‘कांग्रेस वाम एकता देखेर टसकोमस भएको छैन, यस्ता पवित्र,–अपवित्र गठबन्धन कांग्रेसले धेरै भोगिसकेको छ, हामीले यस्ता गठबन्धन पार गरेका छौं, अहिले गृहकार्य भैरहेको वाम गठबन्धन अप्राकृतिक छ, राष्ट्रपतीय प्रणालीमा उभिने आन्तरिक सहमति भएको सुनिँदैछ, यो लोकतन्त्रमाथिको प्रहार हो।’