PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

के बन्दैन लोकतान्त्रिक गठबन्धन?



रमेश वाग्ले

के बन्दैन लोकतान्त्रिक गठबन्धन?

काठमाडौं : निर्वाचनमा तालमेलका लागि बन्न लागेको लोकतान्त्रिक गठबन्धनले आकार लिन ढिलाई भएको छ। संसदमा प्रतिनिधि गर्ने छ वटा पार्टीले कार्यदल बनाएर काम गर्न लागे पनि अहिलेसम्म अवधारणासम्म पनि बन्न सकेको छैन। अवधारणा नबन्दा गठबन्धनमा आवद्ध हुने दलहरु बीचमा नैँ आशंका देखिएको छ।

‘अहिलेसम्म गठबन्धनको अवधारणा र न्यूनतम साझा कार्यक्रम (सिएमपी)को खाकासमेत प्रस्तुत हुन सकेको छैन,’ राजपाका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले भने, ‘नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको ‘इनिसियटर’का रुपमा अवधारणा ल्याउने भनेको अहिलेसम्म उहाँहरुले ल्याउनु भएको छैन।’ उनले गठबन्धन कार्यदलले कांग्रेसकै ढिलाइका कारण काम अघि नबढेको बताए। 

गठबन्धनमा राप्रपातर्फका सदस्य बुद्धिमान तामाङले अवधारणा तथा साझा कार्यक्रम बनाउने जिम्मा राजपा सदस्य शुक्ल र कांग्रेस सदस्य डा. मिनेन्द्र रिजालले पाएको जानकारी दिँदै उनीहरुबाटै ढिला भएको बताए।

‘कार्यदलमा गठबन्धनको अवधारणा र न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा कांग्रेस नेता डा. मिनेद्र रिजाल र राजपा नेता सर्वेन्द्रनाथ शुक्ललाई दिइएको हो,’ तामाङ्ले भने, ‘तर उहाँहरुले अवधारणा र कार्यक्रम प्रस्तुत नगर्दा कार्यदल बैठकसमेत बस्न सकेको छैन।’ उनले आजै साझा बैठक बस्न सक्ने भन्दै त्यहाँ प्रस्तुत भएमा द्रुत रुपमा काम अघि बढ्ने बताए। 

तामाङले गठबन्धनले आकार लिने विषयमा भने प्रश्न नरहेको बताए। ‘गठबन्धनले अब आकार गरिसक्यो भनेर बुझ्नुहोस। यसमा शंका गर्न आवश्यक छैन’ तामाङले भने, ‘खाली सिट चुनावी तालमेलका लागि सिट बाँडफाँटको विषय हो। त्यो बैठक बस्नासाथ टुंगो लाग्छ।’

किन हुँदैछ ढिलाई? 

कांग्रेस नेता डा. रिजालले कार्यदलको काम ढिला भएको स्वीकार गर्दै अझै केही दिन ढिला हुने बताए। उनले पार्टीहरु आन्तरिक गृहकार्यमै व्यस्त हुनु परेकाले कार्यदल बैठक र दलीय छलफल हुन नसकेको जानकारी दिए। 

‘आगामी २९ गते सबै दलले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउनु छ। त्यसका लागि सबै दल आ-आफ्ना आन्तरिक गृहकार्यमा व्यस्त हुनुहुन्छ,’ रिजालले भने, ‘हामी पनि त्यही काममा व्यस्त हुँदा कार्यदलमा अवधारणा र न्यूनतम साझा कार्यक्रमको खाका प्रस्तुत गर्न ढिला भएको हो।’ पार्टीको कार्यक्रममा विराटनगरमा रहेका रिजालले समानुपातिकतर्फको सूची टुंगिएपछि केही दिनभित्रै साझा कार्यक्रम र अवधारणा प्रस्तुत हुने र चुनावी तालमेलको पनि टुंगो लाग्ने बताए। 

समानुपातिकतर्फ सबै दलले आ(आफ्नो गृहकार्य गर्नुपर्ने अवस्था रहेकाले त्यसपछि सबै दल साझा अभियानमा लाग्ने बताए।

‘२९ गतेदेखि हामी साझा कार्यक्रम अवधारणा निर्माण तथा दलीय छलफल पनि एकसाथ अघि बढाउने छौं,’ रिजालले भने, ‘त्यसअघि सबैले आफ्ना आन्तरिक गृहकार्य सकाउने छौं।’ उनले कात्तिक पाँच गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भएकाले त्यसको केही दिनअघि नैं तालमेलको सहमति हुने जानकारी दिए। 
  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell