
काठमाडौँ : भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण सुरु भएको छ। क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड रुपैयाँको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ।
महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले दुई करोड रुपैयाँको लागतमा पशुपति संग्रहालय निर्माण गर्ने सम्झौता पनि भइसकेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी दिए।
संग्रहालयमा पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण सामग्री संग्रह गरिने छ।
महास्नान घर पुनःनिर्माणका लागि पशुपतिको पश्चिम मूल ढोका बन्द गरिएको छ। भवन चर्केर जतिबेला पनि ढल्नसक्ने जोखिम देखिएकाले मूल ढोका बन्द गर्नुपरेको सूचना अधिकारी ढुंगानाले बताए।
महास्नान घरसँगै पशुपतिको शंकराचार्य मन्दिर, कुलानन्द झा सत्तल पनि पुनःनिर्माण सुरु भएको कोषले जनाएको छ।रासस