PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

'प्रचण्डजी तपाइँ क्रम भङ्ग गर्दै जानुस् म वेल्डिङ गर्दै जान्छु'



आकाश क्षेत्री

'प्रचण्डजी तपाइँ क्रम भङ्ग गर्दै जानुस् म वेल्डिङ गर्दै जान्छु'

काठमाडौं : नेपालमा वामपन्थी एकताको बहार चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकृत भएका छन्। 

बबरमहलमा एक कार्यक्रम गरी नेकपा संयुक्त र नेकपा माओवादी केन्द्रले एक भएको औपचारिक घोषणा गरेका हुन्। 

एकता कार्यक्रमलार्इ सम्बोधन गर्दै नेकपा संयुक्तका अध्यक्ष गणेश साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को चरित्र, कामगर्ने तरिका, स्वभावसँग आफू परिचित रहेको स्पष्ट पार्दै भने, ‘तपाइँ क्रम भङ्ग गर्दै जानुस् म त्यसलार्इ वेल्डिङ गर्दै जान्छु।’ 

कार्यक्रममा साहले राणा शासनविरुद्ध लागेको आफ्नो पार्टी नेकपा संयुक्त सधैं माओवादी केन्द्रकै पथमा हिंडेको र आजको दिन घोषणा भएकाले आफू र आफ्नो पार्टीका नेता कार्यकर्ता खुसी रहेको बताए। 

शान्त कम्युनिष्ट
साहले नेकपा संयुक्त ५३ वर्षदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको कम्युनिष्ट भएको बताए। 

‘हिंसाको बाटोमा कहिल्यै नहिंडेर राणाकालको र पञ्चायतकालको शान्तिवपूर्ण आन्दोलन गर्ने कम्युनिष्ट पार्टी हो’ साहले भने। लामो समयदेखि शान्तिपूर्ण आन्दोलन गरेको पार्टी र दश वर्ष जनयुद्ध गरेको कम्युनिष्ट पार्टी एकताले एउटा शक्ति निर्माण गरेर सामन्तवादको नाश गर्ने साहले बताए।

प्रचण्डले भने–

नेपालका कम्युनिष्ट विभाजनको कारण
नेपालका कम्युनिष्टहरु किन विभाजन भए भन्ने कुराको प्रचण्डले एकता कार्यक्रममा खोतलेका छन्।

‘२००६ सालमा पार्टी गठन भएर २०१९ सालमा तेस्रो महाधिवेशन हुँदासम्म पार्टी विभाजित थिएन र त्यो महाधिवेशनपछि पार्टी विभाजनतिर गयो’ प्रचण्डले भने, ‘पार्टी विभाजनको एउटा प्रमुख कारण भनेको अन्तर्राष्ट्रिय स्तरमा चलेको कम्युनिष्ट आन्दोलनको महाविवाद पनि थियो एकातिर चीनमा माउत्सेतुङले स्थापना गरेको चिनियाँ कम्युनिष्ट पार्टी र उनले अघि सारेका विचारहरु अर्कोतिर सोभियत संघ र त्यसले अघि सारेका विचारहरुमा अन्तरर्राष्ट्रिय स्तरमा ठूलो बहस भयो।’

 त्यो बहसले विश्वभरीका कम्युनिष्टहरुमा पनि नयाँ बहस स्थापना गरि नयाँ शृंखला अगाडि आएको र नेपालको कम्युनिष्ट त्यो अन्तर्राष्ट्रिय बिबादबाट चोखो नरहेकोसमेत उनले बताए। 

‘यद्पी त्यो बिबाद अन्तर्राष्ट्रिय बिबादका कारण भयो भन्नु पनि बस्तुगत हुँदैन’ उनले भने। आन्तरिक राजनीतिक कारणले पनि नेपालका कम्युनिष्ट विभाजन भएको उनले बताए। 

नेपालको वर्ग संघर्षको स्थिति, नेपाली राजनीतिको पद्धति र यहाँ चलेको राजनीतिक बहससँग पनि त्यसको सम्बन्ध रहेको र अन्तर्राष्ट्रिय कारण सँगै देशको आफ्नै राजनीतिक कारण कम्युनिष्ट आन्दोलन विभाजित तथा रुपान्तरित जस्ता नयाँ प्रकृयामा गएको प्रचण्डले बताए। 

 नेपालमा नयाँ मोडलको समाजवाद
नेपालमा नयाँ मोडेलको समाजवाद सम्भव भएको धारणासमेत प्रचण्डले राखे। 

‘यो नयाँ परिस्थिति हो किनकी यसमा के कुरा स्पष्ट भएको छ भने प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थिति कम्युनिष्ट आन्दोलनका बाबजुत पनि नेपालको कम्युनिष्ट आन्दोलन आक्रामक किसिमको छ’ प्रचण्डले भने,  ‘त्यो देशभित्र रक्षात्मक छैन। झन्डै दुर्इ तिहार्इ मत वामपन्थीहरुको छ त्यो जनमतलार्इ एकीकृत र केन्द्रिकृत गर्नसक्दा नेपालमा २१औं शताप्दीको नयाँ मोडेलको समाजवाद दिन सकिन्छ।’ 

अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको त्यतिबेलाको जस्तो कम्युनिष्ट महाविवादको अवस्था छैन र अहिले नितान्त नयाँ परिस्थिति विश्वमा पनि पैदा भएको छ र हाम्रो क्षेत्रमा पनि पैदा भएको  र यो नयाँ परिस्थितिले नेपाली कम्युनिष्ट र क्रान्तिकारीका अगाडि नयाँ शिराबाट सोच्नुपर्ने र आन्दोलनको नेत्तृत्व अवसर र चुनौति दुबै खडा गरिदिएको उनले बताए। 

उनले भने, ‘त्यो परिस्थिति यतिवेलाको विश्वमा नेपालमा मात्र बस्तुगत हिसाबमा योग्य मानिन्छ र यही परिस्थितिलार्इ आत्मसात गरेर केहीदिन अगाडि माओवादी केन्द्र, नेकपा एमाले लगायतका पार्टीको बीचमा पार्टी एकता सहमति भएको छ।’

भत्काउने काममा 
जीवनमा पार्टी निर्माण होस् या आन्दोलन हो जहिल्यै पनि आफूले भत्काउने काम मात्र गरेको प्रचण्डले बताए।  

‘विस्तारै विस्तारै गरेर अगाडि बढ्छ भन्ने कुरा मैले कहिल्यै विश्वास गरिन’ उनले भने,‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने नयाँ पार्टी बनाउने, आन्दोलनको पुरानोरुप भत्काउने नयाँ रुप अवलम्बन गर्ने, समाजमा एउटा नयाँ तरंग पैदा गर्ने र मान्छेका दिमागमा नयाँ बहस उठाएर नयाँ परिवर्तन ल्याउने विश्वास गरें।’

४६ सालको ऐतिहासिक जनआन्दोलन भन्दा अगाडि नेपाली कम्युनिष्ट आन्दोलनको एउटा घटकको आफू महामन्त्री भएको पार्टी भत्काएर मसाल पार्टी बनाउने काम नै भएको प्रचण्डले एक प्रसंगसमेत कार्यक्रममा सुनाए, ‘एकता केन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ। १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ। अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौं। अब माओवादी केन्द्र पनि भत्किँदै छ।’ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell