
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएका छन् ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट गौचनको हत्या भएको थियो। यसअघि हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई सहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनु पर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन्।
गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई सहीद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताए । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिनेसमेत प्रतिबद्धता जनाएका थिए।
महासंघका एसोशिएट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने बताए।
“महासंघमा श्रद्धाञ्जलीका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलीका लागि राखिनेछ” सदस्य घिमिरेले भने।
अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौंका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ। रासस